असार २४, २०८२ मंगलबार July 8, 2025

राप्रपा रुपन्देहीका उपाध्यक्ष गुप्ता सहित ३ जना नेताद्धारा पार्टी छाडेको घोषणा

‘सम्मान नभएपछि बस्नुको औचित्य छैन’ भन्दै अजय गुप्ता लगायतका नेताहरू स्वतन्त्र अभियानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही, वैशाख ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जना नेताहरूले पार्टी परित्याग गरेका छन्। मंगलबार भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत उनीहरूले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको घोषणा गरेका हुन्।

पार्टी परित्याग गर्नेहरूमा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष तथा हाल कार्यवाहक अध्यक्ष डा. अमित चतुर्वेदी र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी जिल्ला सल्लाहकार विनिता गुप्ता पनि छन्। गुप्ता २०७९ सालको स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको उपमेयर उम्मेदवार थिइन्।

पत्रकार सम्मेलनमा बोल्दै अजयकुमार गुप्ताले राप्रपा यथास्थितिवादी सोचमा अल्झिएको आरोप लगाए। “८ वर्षसम्म पार्टीमा रहेर इमानदारीपूर्वक काम गरें, तर अब सम्मान नभएको ठाउँमा टिकिरहन सकिँदैन,” उनले भने, “अब स्वतन्त्र रुपमा जनताको सेवा गर्ने प्रतिबद्धतासहित अगाडि बढ्छु।”

उनले अहिले कुनै नयाँ राजनीतिक दलमा जाने निर्णय नगरेको पनि स्पष्ट पारे। राजनीतिक दलप्रति आम जनताको विश्वास खस्कँदो अवस्थामा नेतृत्वले जनगुनासो नबुझ्नु र युवालाई उचित स्थान नदिनु मुख्य कारण भएको उनको भनाइ छ।

यता, रुपन्देही क्षेत्र नम्बर ३ का राप्रपा नेता दीपक बोहराको निधनपछि सो क्षेत्रको राजनीतिक समीकरण फेरिएको छ। नेतृत्व चयन तथा टिकटका विषयमा आन्तरिक खिचातानी भइरहेको चर्चा चलिरहेका बेला यी नेताहरूले पार्टी त्याग गरेका हुन्। तर, गुप्ताले भने आफू टिकटको प्रतिस्पर्धामा नरहेको, पार्टीभित्रै काम गर्ने वातावरण नभएपछि निर्णय गरेको बताए।

पार्टी परित्यागसँगै रुपन्देहीको स्थानीय राजनीतिमा राप्रपाले झेल्नुपर्ने चुनौती थपिने संकेत देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया