काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले लाखौं जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिंदेनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताएका हुन् ।
‘हामी शान्तीपूर्ण आन्दोलनको पक्षमा छौं, अहिंसात्मक आन्दोलनको पक्षमा छौं, सत्याग्रहको पक्षमा छौं । भारतमा १ सय ९० वर्ष पुरानो ब्रिटिस शासन अहिंसाकै बाटोबाट अन्त्य भएको थियो । यो नाथे गणतन्त्रण दुई दशक पुगेको छैन, शान्तिपूर्ण ढंगले हामी लाखौं जनता सडकमा आयौं भने क्षणभरमै समाप्त हुन्छ,’ उनले भने ।
भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनले बताए । अध्यक्ष लिंदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यही अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुनेगरी परिवर्तन महसुस गर्न नपाउने धारणा राखे ।
उनले देश बिग्रिए केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरू भविष्य भने बिग्रने भएकाले युवाहरू नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष लिंदेनले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ।
‘यो देश बिग्रियो भने केपी ओलीको के बिग्रिन्छ ? शेरबहादुर देउवाको के बिग्रिन्छ होला? प्रचण्डको के बिग्रिन्छ होला ? यदि यो देश बिग्रियो भने तपाई युवाको भविष्य बिग्रिन्छ । यो देशको भविष्यसँग आजका युवाको भविष्य गाँसिएको छ । त्यसकारण देश बर्बाद हुन लागेको, देश बिग्रन लागेको र यो देशसँगै तपाईको भविष्य पनि बिग्रिन लागेको कुरा तपाई युवालाई जानकारी गराउन र युवालाई आफ्ना कुरा राख्नको लागि आमन्त्रण गरेका छौँ । फेरि पनि भन्छु–यो देश बिग्रियो भने नेताहरूको केही बिग्रिदैन, तपाईहरुको भविष्य बिग्रिनेवाला छ,’ उनले भने ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया