काठमाडौं, जेठ १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जेठ १५ गते काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शन पूर्णरूपमा शान्तिपूर्ण र अहिंसात्मक हुने दाबी गरेका छन्।
आइतबार काठमाडौंमा सञ्चार सम्पादकहरूसँगको अन्तरक्रियामा लिङदेनले चैत महिनामा गरिएको विरोधजस्तै यो आन्दोलन पनि अनुशासित, सत्याग्रहमा आधारित र जनदबाब सिर्जना गर्ने उद्देश्यले गर्न लागिएको बताएका हुन्।
उनले भने, “हाम्रो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहपूर्ण हुन्छ। हाम्रोतर्फबाट हिंसा भड्काउने कुनै पनि गतिविधि हुँदैन।”
सरकारले चक्रपथ बाहिर प्रदर्शन गर्न सुझाव दिएकोप्रति प्रतिक्रिया दिँदै लिङदेनले भने, “बल्खु वा बालाजुमा विरोध गरे प्रभाव नपर्छ, त्यसैले हामीले रत्नपार्कलाई केन्द्र बनाएका छौं।” उनले रत्नपार्कमा प्रदर्शन गर्दा जनतामा सन्देश पुग्ने र सरकारलाई दबाब दिन सकिने उल्लेख गरे।
उनले भने, “हामीले मञ्च बनाएर सभा गर्ने होइन, शहरभरी प्रदर्शन गर्ने हो। तर केन्द्र भने रत्नपार्कमै हुन्छ।”
लिङदेनले आन्दोलनको स्थान सार्वजनिक गरिएपछि प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई त्यही क्षेत्रमै भेला हुन निर्देशन दिएको भन्दै यस्तो कार्यले सम्भावित मुठभेड निम्त्याउन सक्ने खतरा औंल्याए। उनले भने, “यो गलत कार्य हो। हामी मुठभेड चाहँदैनौं।”
राजनीतिक व्यवस्थामाथिको असन्तुष्टिको सन्दर्भमा लिङदेनले संसदमा बस्दै सडक आन्दोलन गर्नु दोहोरो चरित्र होइन, आन्दोलनकै रणनीतिक हिस्सा भएको स्पष्ट पारे।
उनले भने, “संसदमा बस्दा मात्रै यस्तो तहको आन्दोलन गर्न सक्ने अवस्था बनेको हो। त्यसैले यसलाई पनि आन्दोलनकै पाटोको रूपमा बुझ्न आग्रह गर्छु।”
उनका अनुसार अघिल्ला आन्दोलनहरूजस्तै अहिलेको आन्दोलन परिवर्तन ल्याउने शक्ति राख्दछ तर यसपटकको आन्दोलन हिंसात्मक नभई सत्याग्रहको स्वरूपमा हुनेछ।
लिङदेनले १२ बुँदे समझदारी, संघीयता र धर्मनिरपेक्षता विदेशीको चासो र संलग्नताबाट आएको टिप्पणी गर्दै अबको आन्दोलनमा विश्व समुदायले तटस्थता अपनाउनुपर्ने माग गरे।
उनले भने, “हिजो विदेशी संलग्नतामा आएको व्यवस्था नै समस्याको जड हो। उनीहरूले गल्ती स्वीकार गरे हामी खुसी हुनेछौं।”
जेठ १५ गते गणतन्त्र दिवसकै दिन राप्रपाले राजधानीमा प्रदर्शन गर्ने बताएको छ। सोही दिन सत्तारूढ नेकपा एमालेले देशभर गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरिसकेको छ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोही दिन काठमाडौंमा जनसांघिक शक्ति प्रदर्शन गर्ने संकेत दिँदै आफ्ना कार्यकर्तालाई तयारी गर्न निर्देशन दिइसकेका छन्।
यसरी जेठ १५ गते राजधानी काठमाडौंमा दुई फरक धारका शक्ति प्रदर्शनहरू हुने भएपछि राजनीतिक ध्रुवीकरण तीव्र हुने अनुमान गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया