असार २३, २०८२ सोमबार July 7, 2025

राप्रपा नेपालको केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बस्दै

पार्टीको तत्कालीन रणनीति र आन्दोलनको आगामी योजनाबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १८ । राजसंस्था पुनर्स्थापनाका पक्षमा गरिएको आइतबारको प्रदर्शनमा अध्यक्ष कमल थापा पक्राउ परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आकस्मिक केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको बैठक बोलाएको छ।

बैठक पार्टी कार्यालय सिफलमा केहीबेरपछि बस्ने तयारी भइरहेको छ। यस बैठकमा अध्यक्ष थापाको गिरफ्तारीपछि उत्पन्न राजनीतिक परिस्थिति, पार्टीको तत्कालीन रणनीति र आन्दोलनको आगामी योजनाबारे छलफल हुने पार्टी स्रोतले जनाएको छ।

आइतबार काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको मागसहित गरिएको प्रदर्शनमा सहभागी भएका थापालाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको थियो। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका दृश्यहरूमा थापामाथि प्रहरीद्वारा लछारपछार गरिएको देखिएको छ, जसप्रति राप्रपा नेपालका नेता तथा कार्यकर्ताले आक्रोश व्यक्त गरेका छन्।

पार्टी स्रोतका अनुसार बैठकले अध्यक्ष थापाको गिरफ्तारीप्रति औपचारिक धारणा सार्वजनिक गर्नेछ भने संविधान, राजतन्त्र र हिन्दु राष्ट्रबारे पार्टीको स्पष्ट र कडा अभियान घोषणा गर्ने सम्भावना पनि रहेको छ।

अध्यक्ष थापा लामो समयदेखि राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको पुनः घोषणाको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन्। प्रहरीद्वारा भएको व्यवहारले पार्टी नेतृत्वले सरकारप्रति कडा प्रतिक्रिया जनाउने र आन्दोलन अझ व्यापक बनाउने सम्भावना बढेको छ।

बैठकपछि पार्टीले पत्रकार सम्मेलनमार्फत आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारीसमेत गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया