काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि दायर गरिएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भएको आरोप लगाएका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको सरकारी जमिन सम्बन्धी प्रकरणमा अध्यक्ष नेपालले कुनै व्यक्तिगत लाभ लिएको प्रमाण नरहेको जिकिर गरे। उनले भने, “यो मुद्दा आउँदो २८ गतेभित्र अख्तियारसहित संवैधानिक निकायहरूको म्याद सकिन लागेकाले हतारमा दर्ता गरिएको देखिन्छ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसअघि तामेलीमा राखिएको निर्णयलाई उल्ट्याएर मुद्दा चलाइनुले नियतमा खोट देखिएको पाण्डेको भनाइ छ।
“गिरीबन्धु प्रकरणमा जस्तै नीतिगत निर्णयलाई भ्रष्टाचारको रूपमा व्याख्या गर्ने हो भने संसदमा रहेका धेरै मान्छेहरू फस्नेछन्,” पाण्डेले चेतावनी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया