काठमाण्डौंः गत आम निर्वाचनबाट गठित प्रतिनिधिसभाका सदस्यहरू एकपछि अर्को काण्डमा मुछिने क्रम जारी छ। यसैक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य माधवकुमार नेपाल पनि सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुछिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालका नाममा काभ्रेमा जग्गा किनबेच र हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा नेपालसमेतविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दर्तासँगै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल सांसद पदबाट स्वतः निलम्बनमा परेका छन्।
नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६६ सालमा पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा किनबेच गर्न दिने निर्णय गरेको अख्तियारको दाबी छ। नेपालसँगै अहिले निलम्बनमा परेका सांसदको संख्या चार पुगेको छ। विभिन्न काण्डमा मुद्दा लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछाने, नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत र नेकपा एसका सांसद नेपाल निलम्बनमा छन्।
यस अवधिमा निलम्बनमा परेका तीन सांसदको पद फुकुवा भएको छ। निलम्बनमा परेर फुकुवा भएका सांसदमा कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका लक्ष्मी महतो कोइरी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अरुणकुमार चौधरी छन्। यस अवधिमा दुई सांसदको पद खारेज भएको छ।
सांसद पद खारेज हुनेमा रास्वपाका लामिछाने र ढाकाकुमार श्रेष्ठ छन्। लामिछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भए पनि सहकारी ठगी प्रकरणमा मुद्दा लागेपछि निलम्बनमा परेका हुन्। उनी चितवन–२ बाट निर्वाचित भएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेपछि एमाले सांसद रायमाझी निलम्बनमा परेका हुन्। २०८० वैशाख ३१ मा पक्राउ परेका उनी थुनामा छन्। उनी अर्घाखाँची–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। टेरामक्स प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेस सांसद बस्नेत पनि निलम्बनमा छन्। उनी सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। गत जेठ १ गते उनीविरुद्ध मुद्दा हालिएको हो।
निलम्बन फुकुवा भएका कांग्रेसका गुरुङ मनाङबाट प्रत्यक्ष निर्वाचित हुन्। उनी २०७९ पुस ८ गतेदेखि निलम्बनमा परेका थिए। २०७५ माघ २१ मा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
मुद्दा विचाराधीन भएकै अवस्थामा उनी मनाङबाट निर्वाचित भएका थिए। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गुरुङलाई अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ३३ बमोजिम निलम्बन भएको भन्दै संसद् सचिवालयमा २०७९ पुस ८ मा पत्र पठाएको थियो। पछि अदालतकै आदेशले उनको निलम्बन फुकुवा भए पनि मुद्दा विचाराधीन छ। सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङलाई भृकुटीमण्डपस्थित फन पार्कको ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएको मुद्दामा विशेष अदालतले २०७९ फागुन १७ गते दोषी ठहर गरेको थियो।
निलम्बन फुकुवा भएका एमाले सांसद कोइरी महोत्तरी–१ बाट निर्वाचित हुन्। सशस्त्र प्रहरी बलका असई थमन विक हत्या आरोपमा कोइरी निलम्बनमा परेका थिए। २०७९ माघ १९ गते नाउपाका सांसद चौधरी पक्राउ परेका थिए। कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका थिए।
कैलाली कारागारमा रहेका चौधरी कैद मिनाहा माफीपछि २०७९ फागुन ७ गते छुटेका हुन्। कैद मिनाहा नहुँदासम्म उनी निलम्बनमा थिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति लामिछाने उपप्रधान र गृहमन्त्री बनेका थिए। सर्वोच्च अदालतले २०७९ माघ १३ मा लामिछाने सांसदका लागि उम्मेदवार बन्न योग्य नभएको आदेश दिएपछि उनको सांसद पद खारेज भएको थियो। अमेरिकी नागरिकता नत्यागेकाले उनी सांसद हुन योग्य नभएको सर्वोच्चको आदेश थियो। अमेरिकी नागरिकता त्यागेपछि सोही क्षेत्रमा भएको उपनिर्वाचनबाट लामिछाने पुनः निर्वाचित भए।
२०८१ पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र दर्ता भएसँगै उनको सांसद पद निलम्बन भएको हो। रास्वपाका समानुपातिक सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले २०७९ चैत २९ गते साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो। यो निर्णयसँगै उनको पद गुमेको हो। उनको सट्टामा रास्वपाले विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाएको छ।
यसैगरी राप्रपा सांसद धबलशमसेर राणा, कांग्रेस सांसद माया राई र राप्रपाकी सांसद गीता बस्नेत पनि कानुनी फन्दामा परेका छन्। काठमाडौं तीनकुनेमा चैत १५ गते हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा सांसद राणा पक्राउ परेका थिए। उनलाई फौजदारी कसुरको आरोप लागेको छ। उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। उनी बाँके २ बाट निर्वाचित हुन्। उनी निलम्बनमा भने छैनन्।
कांग्रेसकी सांसद माया राई पनि पक्राउ परेकी छिन्। उनीमाथि काठमाडौें कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ।सहकारी ठगी प्रकरणमा मुछिएपछि राप्रपा सांसद बस्नेत फरार छिन्। नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा गत वैशाखमा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। नागरिक दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया