काठमाण्डौः स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले १ सय ७५ रनको विजयी लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पूरा २० ओभर खेल्दै सात विकेट गुमाएर १ सय ७४ रनको योगफल तयार पारेको हो ।
नेदरल्यान्ड्सका माइकल लेभिटले आक्रामक ब्याटिङ गरे । उनले सर्वाधिक ८६ रन बनाए । ५३ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । सकिब जुल्फिकरले १४, रोएलफ भ्यान डेरले ३६ र आर्यन दत्तले १७ रन बनाए ।
नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र रुपेश सिंहले एक/एक विकेट लिए । केहीबेरमा नेपालले जवाफी ब्याटिङ थाल्नेछ ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मंगलबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्यान्ड्सले भने यस शृंखलामा दुई जित निकालेको छ ।
आइतबार घरेलु टोली स्कटल्यान्डसँग नेदरल्यान्ड्स ३९ रनले पराजित भएको थियो । त्यसपछि नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्यान्डलाई १७ रनले हराएको थियो ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा भीम सार्कीको डेब्यु
नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा नेपालका खेलाडी भीम सार्कीले डेब्यु गरेका छन् । सार्कीलाई उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका हुन् । उनी टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ५२औँ खेलाडी हुन् । जारी सिरिजमा यसअघि किरण ठगुन्ना र रुपेश सिंहले डेब्यु गरेका थिए ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान ऐरी, कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया