काठमाण्डौंः सरकारले मुलुकमा धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न प्रयत्न गर्दै आएको छ । यही अभिप्रायले दुई दशकदेखि प्रत्येक १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ । धानको उत्पादनमा वृद्धि एवं आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि सो दिवस मनाइँदै आए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिमाणमा धानचामल आयात हुने गरेको छ ।
यस वर्ष पनि ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासाथ २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । कृषि विभागको आयोजनामा आइतबार सो दिवस मनाउन लागिएको हो ।
धान उत्पादन बढाउने पहल धेरै भए पनि कृषिप्रधान देशको स्थानीय उत्पादनले माग धान्न नसक्दा ११ महिनामा झन्डै ३९ अर्ब रुपियाँ बराबरको धानचामल आयात गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ ११ महिनामा (साउन–जेठ) ३८ अर्ब ९४ करोड रुपियाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड बराबरको धानचामल आयात भएको थियो । यो वर्ष झन्डै दोब्बर रकमले धानचामलको आयात बढेको तथ्याङ्कले देखाएको छ । चालु आवको ११ महिनामा सबैभन्दा धेरै २१ अर्ब १५ करोड २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड बराबरको १५ करोड ३७ लाख आठ हजार केजी धान आयात भएको थियो ।
यस्तै चालु आवमा १७ अर्ब ७८ करोड ५७ लाख बराबरको पाँच करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ६९ करोड १६ लाखको दुई करोड ६९ लाख सात हजार केजी चामल आयात भएको थियो ।
यस वर्ष धानचामल आयातमा दोब्बरले बढेको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात हुने गरेको हो । मुलुकमा धानको उत्पादन बढे पनि आयात पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । कृषि विभागका अनुसार मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेकोमा १० लाख मेट्रिक टन अपुग छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया