नयाँ दिल्ली, असार १४ – भारत सरकारले अनुसन्धान तथा विश्लेषण विङ (रअ) को नयाँ प्रमुखका रूपमा वरिष्ठ प्रहरी अधिकृत पराग जैनलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद् नियुक्ति समितिको निर्णयअनुसार छन्।
पञ्जाब क्याडरका १९८९ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारी पराग जैन हाल एभिएसन रिसर्च सेन्टर (एआरसी) का प्रमुख थिए। पाकिस्तानमा सञ्चालन गरिएको ‘अपरेशन सिन्दूर’को क्रममा उनी गुप्तचर समन्वयको नेतृत्वदायी भूमिकामा थिए। जैनले रवि सिन्हाको स्थान लिँदै छन्, जसको कार्यकाल जुन ३० मा समाप्त हुँदैछ। विगतमा कार्यकाल विस्तार हुँदै आएको अवस्थामा सिन्हालाई निरन्तरता नदिइनु प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको नयाँ नीति परिवर्तनको संकेतको रूपमा लिइएको छ।
पराग जैन एक गम्भीर, शान्त स्वभावका तर तीक्ष्ण रणनीतिक सोच भएका अधिकारीका रूपमा परिचित छन्। उनी भारतको आन्तरिक गुप्तचर संस्था आईबी र बाह्य गुप्तचर संस्था रअ दुबैमा लामो अनुभव राख्छन्। जैनले खालिस्तान आन्दोलन सक्रिय रहेको क्यानडामा र द्वन्द्वपछि पुनःगठन भइरहेका श्रीलङ्कामा समेत गुप्तचर जिम्मेवारी सम्हालेका थिए। जम्मु–कश्मीरमा धारा ३७० खारेज गर्ने समयमा उनी त्यहाँको गुप्त रणनीतिमा सहभागी थिए।
सुरक्षा स्रोतका अनुसार पछिल्ला केही वर्षमा रअले बंगलादेशमा शेख हसीना सरकारको अस्थिरता रोक्न नसक्नु र कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमण जस्ता असफलताहरू व्यहोरेको थियो। त्यसपछिको यो नेतृत्व परिवर्तनलाई रणनीतिक सुधारको संकेतका रूपमा लिइएको छ। जैनको नेतृत्वमा एआरसीले पाकिस्तानका कयौं संवेदनशील संरचनाको पहिचान र विश्लेषणमा सफलता हासिल गरेको थियो।
मानव स्रोतमा आधारित गुप्त सूचना संकलन (HUMINT) र प्रविधिमा आधारित विश्लेषण (TECHINT) दुबैमा समान दक्षता राख्ने जैनलाई भारतीय सुरक्षातन्त्रमा विश्वासिलो पात्रका रूपमा हेरिएको छ। विशेषतः कश्मीरको मैदानस्तरको अनुभवले पाकिस्तानद्वारा पुनः सक्रिय पारिँदै गरेको आतङ्क संरचनालाई निस्तेज पार्न भूमिका खेल्ने विश्वास गरिएको छ।
पराग जैनको प्रमुख चासो पाकिस्तान र चीनसँग सम्बन्धित रणनीतिक योजनामा केन्द्रित हुने बताइएको छ। उनले विगतमा संगठनभित्रको गुटबन्दीलाई सन्तुलनमा राख्दै कार्यसम्पादनमा नयाँ ऊर्जा भरिदिने क्षमता प्रदर्शन गरेका छन्। भारतले अन्तर्राष्ट्रिय गुप्तचर सञ्जालमा विश्वसनीयता र प्रभावशीलता बढाउने लक्ष्य राखेको वर्तमान परिप्रेक्ष्यमा जैनको नियुक्ति एक सशक्त र समयसापेक्ष निर्णयका रूपमा हेरिएको छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया