असार १९, २०८२ बिहिबार July 3, 2025

अब सिस्नेखोला-नागढुंगामा ‘नो जाम’

सुरुङमार्ग प्रवेश गर्नुअघि साना चारपांग्रे र १२ लेखि १४ चक्केसम्मका ठुला गाडीले शुल्क बुझाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि करिबकरिब तयारी अवस्थामा पुगेको छ। केही सामान्यबाहेक सुरुङमार्गका सबै काम सकिएको छ।

सडक विभाग मातहतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजन इन्जिनियर सञ्जय पन्थीका अनुसार सुरुङमार्गको काम ९२ प्रतिशत बढी भइसकेको छ। उनले भने, ‘आगामी कात्तिक महिनामा ठेकेदारदलाई कामका लागि दिइएको समय सकिन्छ। पुस महिनाबाटै सुरुङमार्ग सञ्चालनमा आउनेछ।’

ठेकेदार कम्पनीले पनि सबै काम पूरा गरी कात्तिकअघि नै सुरुङमार्ग सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। अहिले सुरुङमार्गमा सवारीसाधन परीक्षणको काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार सिस्नखोलातर्फ केही सामान्य काम भइरहेको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट बाहिरिने र बाहिरबाट काठमाडौं भित्रिने सवारीसाधनलाई थानकोट/नागढुंगामा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता हट्ने छ। सुरुङमार्ग भएर हिँड्ने सवारीसाधानले उक्त दुरी आधा घण्टामै पार गर्नेछन्। इन्जिनियर पन्थीका अनुसार सुरुङमार्गले साढे दुई किमि बाटो छोटो बनाउने छ। हाल बलम्बुदेखि सिस्नेखोलासम्मको दुरी साढे ७ किमि छ। सुरुङमार्ग सञ्चालनमा आएपछि बलम्बुबाट सिस्नेखोलासम्मको दुरी ५ किमि हुनेछ।

सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिइने इन्जिनियर पन्थीका अनुसार सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको जिम्मा टेन्डरबाट निजी क्षेत्रलाई दिने तयारी भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मत खरिदका लगि आवश्यक निर्देशिका बनाइसकेको छ। मन्त्रालयले उक्त निर्देशिका सहमतिका लागि सार्वजनिक खरिद अनुमगन कार्यालयमा पठाएको छ। सार्वजनिक खरिद अनुमगन कार्यालयले सहमति दिएपछि त्यसलाई मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने छ। मन्त्रिपरिषद्ले पास गरेपचि बल्ल निर्देशिका कार्यान्वयनमा आउने छ। त्यसपछि सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि सडक विभागले टेन्डर आह्वान गर्ने छ।

५० देखि पाँच सय रुपैयाँसम्म शुल्क

सडक विभागले तयार पारेको निर्देशिकमा नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई ५० रुपैयाँदेखि पाँचसय रूपैयाँसम्म शुल्क लगाउन प्रस्ताव गरिएको छ। विभागका एक कर्मचारीका अनुसार सुरुङमार्ग प्रवेश गर्नुअघि साना चारपांग्रे र १२ लेखि १४ चक्केसम्मका ठुला गाडीले शुल्क बुझाउनुपर्ने व्यवस्था राखिएको छ।

मोटरसाइकल र डिजेल, पेट्रोललगायत प्रज्वलनशील इन्धन बोक्ने गाडीले भने सुरुङमार्गमा प्रवेश गर्न पाउने छैनन्। ती कर्मचारीका अनुसार सुरुङमार्ग भएर हिँड्ने साना सवारीसाधनलाई ५० रूपैयाँ, बसलाई दुई सय रूपैयाँ र ठुलाठुला ट्रकलाई पाँच सय रूपैयाँसम्म शुल्क लगाउन प्रस्ताव गरिएको छ। सुरुङमार्गबाट भित्रिएर र सुरुङमार्गबाटै फर्कन चाहने सवारीसाधनलाई भने फरकफरक शुल्क लगाउन प्रस्ताव गरिएको छ।

निर्देशिकामा सुरुङमार्गमा सवारीसाधनको आवागमनको ढाँचाका विषयमा विभिन्न शीर्षकमा व्याख्या गरिएको छ। सुरुङमार्ग भएर गुड्ने सवारीसाधानबाट शुल्क उठाएपछि भित्र अक्सिजन, अग्निनियन्त्रक, सुरक्षा, सञ्चारलगायतका सुविधा शुल्क उठाउने कम्पनी/निकायले नै मिलाउनु पर्ने छ। सुरुङमार्गभित्र बिजुलीको व्यवस्था पनि शुल्क उठाउने कम्पनी/निकायले नै गर्नुपर्ने छ।

मन्त्रालयका एक कर्मचारीले यो सुरुङमार्ग नेपालको पहिलो अनुभव भएकाले कानुनको मस्यौदा बनाउन अलमल भएको बताए। ती कर्मचारीले भने, ‘यसबाट हामीले शिक्षा लिइरहेका छौं, अब सजिलो हुने छ।’

२०७६ सालबाट निर्माण सुरु गरिएको सुरुङमार्ग परियोजनाको म्याद दुई पटक थप भइसकेको छ। सुरुङमार्गको निर्माण जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ। आयोजनामा १६ अर्ब रूपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जालगायतमा नेपाल सरकारले थप नौ अर्ब खर्च गरेको छ। आयोजनाका अनुसार सुरुङमार्ग निर्माण सञ्चालनका लागि अहिलेसम्म अन्डरपास, बक्स कल्भर्ट र ओभरपास बनाउने काम भइसकेको छ।

सुरुङमार्ग प्रवेश गर्ने तीनवटा पुल बनिसकेका छन्। फ्लाइओभर (ओभरपास) को काम पनि लगभग सकिएको आयोजनाको भनाइ छ। फ्लाइओभर वान वे (एकतर्फी) छ। काठमाडांैबाट बाहिरिन सवारीसाधनले मात्र फ्लाइओभर प्रयोग गर्न पाउने छन्। काठमाडौं भित्रिने सवारी साधनले फ्लाइओभर प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।

यात्रुको सुरक्षा पहिलो प्राथमिकतामा

आयोजनाका परामर्शदाता इन्जिनियर रमेश कोइरालाका अनुसार सुरुङमार्गमा बाहिर सडकको भन्दा पृथक रूपमा यात्रुहरूको सुरक्षा व्यवस्था हुनेछ। बाहिरी सडका आपत्कालीन स्थिति आए जताततैबाट यात्रुको उद्धार गर्न सकिन्छ तर सुरुङमार्गमा त्यस्तो हुँदैन। सुरुङमार्गमा केही भइहालेको खण्डमा अगाडि र पछाडि जाम हुन्छ। यात्रु भाग्न पाउँदैनन् र उद्धार गर्न पनि कठिनाइ पर्छ। यसकारण सुरुङमार्गमा वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ अर्थात् रेस्कु टनेल बनाइएको छ, जुन यात्रु तथा सवारीसाधन हिँड्ने टनेलभन्दा ३० मिटरको दूरीमा छ। मुख्य टनेलबाट रेस्कु टनेलमा जान सातवटा गेट बनाइएको कोइरालाले बताए।

उनका अनुसार सुरुङमार्गमा टेलिफोन बुथ, सिसिटिभी पनि राखिएको छ। टनेलमा कुनै दुर्घटना घटिहाल्यो भने तत्काल उद्धारका लागि कन्ट्रोल रूमको पनि व्यवस्था गरिएको छ। टनेलमा मोबाइल फोन पनि चल्ने व्यवस्था मिलाइने छ। भवितव्य भइहालेमा तत्काल उद्धारमा खटिनेगरी टनेलको दुवै साइडमा एम्बुलेन्स र  दमकल तयारी अवस्थामा राखिने छ।

सुरुङमार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो। टनेलभित्र सवारीसाधनको चापले गर्दा मानिसलाई अक्सिजनको कमी हुने गर्छ। यसका लागि टनेलभित्र भेन्टिलेसन्स सिस्टम जडान गरी १५ सेटको ‘जेट फ्यान’ राखिएको उनले बताए। जेट फ्यानले गाडीबाट निस्किने हानिकारक ग्यासलाई बाहिर फाल्ने र बाहिरबाट भित्र स्वच्छ हावा प्रसारित गर्छ। नागरिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया