असार १९, २०८२ बिहिबार July 3, 2025

चर्चित कृतिका असफल चलचित्र

अन्तर्राष्ट्रिय मञ्चमा कृतिमाथि आधारित रहेर चलचित्र बनाउने होडबाजी भए पनि नेपालमा कृतिमाथि कमै चलचित्र बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, असार १९ गते । अन्तर्राष्ट्रिय मञ्चमा कृतिमाथि आधारित रहेर चलचित्र बनाउने होडबाजी भए पनि नेपालमा कृतिमाथि कमै चलचित्र बन्दै आएका छन् । केही चलचित्र साहित्यिक कृतिमा बने पनि ती व्यावसायिक रूपमा सफल हुन सकेनन् । हलिउड चलचित्र ‘गन विथ दी विन्ड,’ ‘व्रिजेश अफ मेडिसन काउन्टी,’ ‘केन एन्ड एवल,’ ‘जेम्स वन्ड’ का शृङ्खलालगायत थुप्रै यसका उदाहरण हुन् ।

भारतीय चलचित्र क्षेत्रमा पनि मुन्सी प्रेमचन्द्र, शरतचन्द्रलगायतका साहित्यकारका कृतिमाथि चलचित्र बनेका छन् । नेपाली चलचित्रको सुरुवातको क्रममा साहित्यिक कृतिमा आधारित रहेर बनेका चलचित्र केही मात्रामा सफल बने पनि धेरैले दर्शकको ध्यान तान्न सकेको पाइएको छैन । साहित्यकार विजय मल्लको उपन्यास ‘कुमारी शोभा’ मा आधारित रहेर निर्देशक प्रेमबहादुर बस्नेतले ‘कुमारी’ चलचित्र निर्देशन गर्नुभएको थियो । विसं २०३४ मा प्रदर्शन गरिएको यो पहिलो रङ्गीन नेपाली चलचित्र मात्र नभएर साहित्यिक कृतिमाथ बनेको पहिलो चलचित्र पनि मानिन्छ ।

गुरुप्रसाद मैनालीको साहित्यिक कृति ‘नासो’ मा आधारित रहेर ‘परालको आगो’ निर्माण भयो । प्रताप सुब्बाले निर्देशन गर्नुभएको थियो । बालकृष्ण समको अमरकृति ‘प्रेम पिण्ड’, डायमन शमशेर राणाको कृति ‘वसन्ती’, धुव्रचन्द्र गौतमको कृति ‘कट्टेल सरको चोटपटक’ मा आधारित रहेर ‘वासुदेव’ चलचित्र बनिसकेका छन् । वासु शशीको ‘नगदनारायण’ मा बनेको ‘लोभी पापी’, लिलबहादुर क्षेत्रीको ‘बसाइ’ मा आधारित रहेर बनेको चलचित्र ‘बसाइ’ ले व्यावसायिक सफलता कमाउन नसके पनि चर्चामा रहे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक कृतिमा ‘मुनामदन’ व्यावसायिक रूपमा सफल ठहरियो । चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गर्नुभएको थियो । कृष्ण धरावासीको उपन्यास ‘झोला’ माथि बनेको चलचित्र व्यावसायिक रूपमा सफल बन्यो । यस चलचित्रले नेपालको सती जाने प्रथालाई प्रस्तुत गरेको छ ।

कर्ण शाक्यद्वारा लिपिबद्ध आत्मवृत्तान्त ‘पल’ माथि बनेको चलचित्र पनि व्यावसायिक रूपमा असफल बन्यो । नीर शाहले निर्माण गरेको गोपालप्रसाद रिमालद्वारा लिखित कृति ‘मसान’ पनि सफल बनेन । मनोवैज्ञानिक धारको कृतिलाई शाहले हास्यप्रधान बनाउँदा चलचित्रले असफलता बेहोर्नु पर्‍यो । त्यस्तै डायमण्ड शमशेरको कृतिमा आधारित भएर निर्माण गरिएको ‘सेतो बाघ’ पनि असफल ठहरियो । मदन पुरस्कार प्राप्त पारिजातको उपन्यास ‘शिरीषको फूल’ माथि आधारित रहेर निर्माण गरिएको ‘शिरीषको फूल’ पनि असफलताको सूचीमा पर्‍यो ।

साहित्यिक कृतिमा बनेका चलचित्र विवादरहित भने छैनन् । कृतिको विषयवस्तुलाई दुरुस्त उतार्न नसकेको आरोप निर्माता/निर्देशक लाग्दै आएको छ । निर्देशक घनश्याम लामिछाने कृतिमा आधारित चलचित्र दक्ष निर्देशकको हातमा नपर्दा असफल रहेको तर्क राख्नुहुन्छ । “कृतिमा आधारित चलचित्र बनाए भन्दैमा जे पायो त्यही गर्दा न कृतिलाई न्याय पुग्न गयो न दर्शकलाई नै,” उहाँले भन्नुभयो । मुनामदन, प्रेमपिण्ड र बसाइसम्मलाई दुरुस्त बनाउने प्रयास गरिए पनि त्यसपछि बनेका चलचित्रले कृतिको मर्मलाई बुझ्न नसकेको उहाँको विश्लेषण छ ।

निर्माण पक्षले लेखकले लेखे जस्तै चलचित्र बनाउन नसक्दा साहित्यिक कृतिमा बनेका चलचित्र असफल हुने गरेको उहाँले बताउनुभयो । चलचित्र निर्देशक एवं समीक्षक दीपेन्द्र लामाको भनाइ पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, “कृतिमा भएको कथालाई बढाइचढाई गर्नु स्वाभाविक हो । उपन्यास अनुसार चलचित्र बनाउन सकिँदैन किनकि यसमा प्रविधि, बजेटलाई पनि हेर्नु पर्छ ।” दर्शकलाई जोड्न नसक्दा कृतिमा बनेका मात्र नभई अन्य व्यावसायिक चलचित्र पनि असफल भएका थुप्रै उदाहरण छन्,” उहाँले भन्नुभयो । जुनसुकै विधाको भए पनि चलचित्र चल्छ तर दर्शकले रुचाउने हुनुपर्ने, उहाँको भनाइ थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसको कुस्र्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
२०८२ असार १९, बिहिबार
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार