काठमाडौँ, असार ४गते । नेपाली चलचित्र क्षेत्र पुनः सक्रिय हुँदै गएको संकेतस्वरूप चलचित्र विकास बोर्डले जेठ महिनामा मात्रै ३६ वटा फिल्म निर्माणका लागि अनुमति दिएको छ।
बोर्डबाट इजाजत लिएका यी फिल्महरूको कुल अनुमानित बजेट ५२ करोड रुपैयाँभन्दा बढी रहेको छ। यो संख्या हेर्दा चालु वर्षमा अघिल्ला वर्षहरूभन्दा फिल्म निर्माणमा उल्लेखनीय वृद्धि हुने देखिएको छ।
प्रमुख कलाकार र निर्देशकहरूबाट बहुप्रतीक्षित फिल्महरू निर्माणको तयारीमा छन्।
प्रदीप खड्का शीर्ष भूमिकामा रहने गरी थमनकुमार भण्डारीले ‘लोभीपापी’ निर्माण गर्दैछन्, जसको बजेट २ करोड ३० लाख रहेको छ। त्यस्तै, **मरिचमान श्रेष्ठ ‘बल्छीधुर्बे’**ले निर्देशन र निर्माण गर्ने फिल्म ‘गोबर गणेश’ २ करोडको लागतमा बन्नेछ।
किरण नेपालीले मुस्कान ढकालको निर्देशनमा २ करोड ९० लाखको बजेटमा ‘महारानी’ निर्माण गर्ने तयारी गरेका छन्।
भुवन केसीले २५ लाखमा अनमोल केसीलाई लिएर ‘बाटुलो जुन’ निर्देशन गर्दै छन् भने नीता ढुंगानाले ‘एक दुई तीन’ र ‘सुखदुःख’ निर्माणका लागि क्रमशः २ करोड र २ करोड १० लाखको बजेट निर्धारण गरेकी छन्।
गणेशदेव पाण्डेको निर्देशनमा ३ करोडको ‘पारी बुटोल’, चेतन आङथुपोको ‘दारासिङ’, प्रचण्डमान श्रेष्ठको ‘जयन्ती’ र ‘पथलैया’, केकी अधिकारीको ‘भद्रकाली’ र ‘राधापियारी’, अरुण स्याङ्तानको ५ करोड ४० लाखको ‘तथास्तु’, पूजना गुरुङको ‘क्याप्टेन कालिका’, भवानी संग्रौलाको ‘आहुति २’, कृष्ण विकको ‘गैरीखेत’, नवीन पन्तको ‘बाकस’, हिमाल न्यौपानेको ‘सतिघाटु’, सुदर्शन थापाको ‘शुभविवाह’ र ‘चालिस कटेसी रमाउँला’, अमित अग्रहरिको ‘इट्टा भट्टा’ र ‘चिट्ठा’, साथै घनश्याम लामिछानेको ‘लुछाचुँडी’ लगायत थुप्रै नयाँ फिल्मका लागि अनुमति दिइएको छ।
यी फिल्महरूमा नयाँ मोडल अञ्जली अधिकारी, तलिसा गुरुङ, आशीर्वाद क्षेत्री, प्रिन्सी खतिवडा लगायत कलाकारहरूको डेब्यु वा विशेष उपस्थिति रहने जनाइएको छ।
चलचित्र विकास बोर्डका अनुसार बैशाख महिनामा १८ वटा फिल्मलाई निर्माण अनुमति दिइएकोमा जेठ महिनामा त्यो संख्या दोब्बरभन्दा बढी पुगेको हो। योसँगै नेपाली फिल्म उद्योगमा लगानीकर्ताको उत्साह र दर्शकको अपेक्षा पनि उच्च रहेको संकेत देखिन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया