काठमाडौं । बलिउडका चर्चित अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई भारतको ‘विदेशी क्षेत्रीय दर्ता कार्यालय’ले अक्टोबर २८, २०२६ सम्ममा भारत छोड्न औपचारिक नोटिस जारी गरेको छ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध मुम्बईको अगस्ट क्रान्ति मैदानमा आयोजित विरोध प्रदर्शनमा सहभागी भई ‘फरेनर्स एक्ट’ र ओसिएआई कार्डको नियम उल्लङ्घन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो।
अक्टोबर १० मा मुम्बईको अगस्ट क्रान्ति मैदानमा मतदाता सूची परिमार्जन र मुख्य निर्वाचन आयुक्तको निष्पक्षतामाथि प्रश्न उठाउँदै भएको प्रदर्शनमा इमरान खान सहभागी भएका थिए। सोही क्रममा प्रहरीले उनलाई केही समय नियन्त्रणमा लिएको थियो।
भारतीय जनता पार्टीका नेता किरीट सोमैयाले इमरान खान अमेरिकी नागरिक भएको र उनीसँग ‘ओभरसिज सिटिजन अफ इन्डिया’ कार्ड रहेको खुलासा गर्दै प्रहरी र गृह मन्त्रालयमा औपचारिक उजुरी दर्ता गराएका थिए।
सोमैयाले विदेशी नागरिकता र ओसिएआई कार्ड भएका व्यक्तिहरूलाई भारतमा कुनै पनि राजनीतिक विरोध वा प्रदर्शनमा सहभागी हुने कानुनी अधिकार नरहेको दाबी गर्दै इमरान खानलाई भारतबाट देशनिकाला गर्न माग गरेका थिए।
गामदेवी प्रहरी स्टेसनमा परेको उजुरीको अनुसन्धानपछि सो मामिला फरेनर्स क्षेत्रीय दर्ता कार्यालयमा पठाइएको थियो। प्रहरी अधिकारीहरूका अनुसार एफआरआरओले इमरान खानलाई पठाएको नोटिसमा इमिग्रेसन एन्ड फरेनर्स एक्टको धारा ७ र २९ को उल्लङ्घन गरेको उल्लेख गरिएको छ।
उनी अमेरिकी नागरिक भएकाले तोकिएको समयसीमा (अक्टोबर २८) भित्र भारत छाड्नुपर्ने आदेश जारी गरिएको छ। यस घटनाले भारतमा रहेका विदेशी नागरिक तथा ओसिएआई कार्डधारकहरूको राजनीतिक सहभागिता र कानुनी अधिकारबारे नयाँ बहस सिर्जना गरिदिएको छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया