असोज १२, २०८३ सोमबार September 28, 2026

वरिष्ठ कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित

यस वर्षको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार नीलम आङ्बुहाङ राईलाई नगद रु १५ हजारसहित प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ ।

गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक समारोहमा पाँच दशकभन्दा लामो समयदेखि नेपाली कला तथा गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका उहाँलाई नगद रु एक लाख ५१ हजारसहित सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरिएको हो ।

गीतकार शाहका ‘बादल बनाई देऊ आकार बदल्न सकुँ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ हाँस्छु धेरै नै हाँस्छु’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘खुल्दैन ताल्चा त्यो ढोकाको’, ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो’, ‘आँखैमा कसैको तस्बिर’, ‘अर्को जुनी चाहिँदैन मलाई’, ‘प्यारी वसन्ती’ र ‘पसिनाको जलैले’ लगायतका गीत चर्चित छन् ।

यसैगरी, यस वर्षको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार नीलम आङ्बुहाङ राईलाई नगद रु १५ हजारसहित प्रदान गरिएको छ । विदेशमा रहेर पनि नेपाली गीत लेखनमा सक्रिय राईका ‘पुरानो हुँदैन माया’ र ‘पानी मिठो मेरो हजुर इलाम बजारको’ लगायतका गीत चर्चित छन् ।

यस्तै ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई नगद रु २५ हजार २५२ सहित प्रदान गरिएको छ । ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ बाट गीतकार सुशीला पौडेल र अरुण तिवारीलाई जनही रु १५ हजारसहित सम्मान गरिएको छ ।

यसै वर्षदेखि सुरु गरिएको ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाललाई नगद रु पाँच हजार ५५५ सहित सम्मान गरिएको छ । कार्यक्रममा ‘जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार–२०८२’ कल्पना खरेलको कृति ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालनको कृति ‘भोलिको आश उज्यालो प्रकाश’लाई प्रदान गरिएको थियो । दुवै कृतिका लागि पुरस्कार राशि रु ५७ हजार रहेको छ ।

त्यस्तै, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार’ बाट डम्बर याक्सोको ‘म तिम्रो नजरमा’ र प्रबल विष्टको ‘भुल्न सकिनँ’ गीत पुरस्कृत भएका छन् । समारोहमा सम्मान तथा पुरस्कार वितरणसँगै अग्रज गीतकारका १० वटा कालजयी गीत प्रत्यक्ष सङ्गीतसहित प्रस्तुत गरिएको थियो ।

सम्मानित गीतकार शाहको ‘गहिराइमा डुब्दै नडुब’ गायक जगदीश समालले प्रस्तुत गर्नुभएको थियो । गीतकार डा भोला रिजालको ‘मेरो पौवा पाटीलाई’ सञ्जय तुम्रोकले प्रस्तुत गर्नुभयो ।

दिवङ्गत गीतकार गणेश रसिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको चर्चित गीत ‘धेरै सम्झे धेरै हुन्छ’ गायक अशोक मुकारुङले प्रस्तुत गर्नुभएको थियो । एसपी कोइरालाको चलचित्र ‘ग्रहण’ को ‘धड्कनभित्र लुकाइदेऊ न’ रूपक चौधरी र बिनुषा राईले युगल रूपमा प्रस्तुत गर्नुभयो ।

अमर बान्तुको ‘आमा’ निशा देसार, वसन्त चौधरीको ‘मेरो प्यारो मान्छे’ माण्डवी त्रिपाठी तथा डा कृष्णहरि बरालको ‘मर्ने कसैलाई रहर हुँदैन’ बाल गायक प्रेम परियारले, योगेन्द्रमणि दाहालको ‘बादलहरू हो’ सञ्जय तुम्रोक र चुडामणि देवकोटाको ‘तिम्रो पनि रगत’ सुमित खड्काले र शुभ मुकारुङको शब्द रहेको ‘तिमीले मलाई छाडिगए’ गणेश पराजुलीले प्रस्तुत गर्नुभएको थियो ।

वरिष्ठ सङ्गीतकार अशोककुमार राईको सङ्गीत संयोजनमा १५  वाद्यवादकले प्रत्यक्ष सङ्गीत दिएका थिए । समारोहमा सङ्घका आजीवन सदस्यता प्राप्त गीतकारलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्रमलाई विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले कार्यक्रमका लागि छुट्याइएको रकममध्ये रु एक लाख १५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, सदस्यसचिव भूपेन्द्र रायमाझी, गीतकार सङ्घ नेपालका संस्थापक अध्यक्ष कृष्णहरि बराल, गीतकार भोला रिजाल, एसपी कोइराला र राजेन्द्र थापा, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, साङ्गीतिक सङ्घ नेपालका अध्यक्ष मिलन मोक्तान, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलगायत कला, साहित्य तथा सङ्गीत क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार