काठमाडौँ, १२ असोजः प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि-२०८३ खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नुभएको छ ।
नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफिको सुरुआत भएको हो ।
एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ वटा विधा समावेश गरी सञ्चालन भएको उक्त प्रतियोगितामा पृतना तथा बाहिनीका १४ वटा टोली सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत आज सम्पन्न पाँच किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाका प्यूठ निर्मला केसी र पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा पहिलो हुनुभयो । उहाँहरुलाई प्रधान सेनापति सिग्देलले पुरस्कार वितरण गर्नुभयो ।
समारोहमा रथीबृन्द, अधिकृत, निर्णायक मण्डल तथा खेलाडीहरूको उपस्थिति रहेको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया