असार २८, २०८२ शनिबार July 12, 2025

अनुशासन कारबाहीले शेखर समूह रुष्ट

आग्रहपूर्ण ढंगबाट कारबाही गरिएको भन्दै प्रतिवाद गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले झन्डै तीन वर्षअघि भएको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेताहरूलाई कारबाही गरेसँगै पार्टीभित्रको गुट विवाद फेरि चर्किएको छ।

केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री कुमार खड्कालगायत १८ जनालाई कारबाही गरेपछि संस्थापन इतरपक्ष थप चिढिएको छ। अनुशासन समितिले बुधबार १८ जनालाई कारबाहीको निर्णय गरेपछि बिहीबार बिहान बसेको शेखर कोइराला समूहको बैठकले कारबाही वैध नभएको निष्कर्ष निकालेको छ।

बहुमतका आधारमा गरिएको कारबाहीलाई कोइराला समूहले पूर्वाग्रहका रूपमा व्याख्या गरेको छ। २०८४ सालमा हुने तीनै तहको निर्वाचन र पार्टीको १५औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने बेलामा आग्रहपूर्ण ढंगबाट गरिएको कारबाहीको प्रतिवाद गर्ने निष्कर्षमा बैठक पुगेको जानकारी सहभागी एक नेताले दिए। यसबाट कांग्रेसमा गुटगत विवाद बढ्ने देखिएको छ।

बैठकमा सहभागी प्रतिनिधसभा सदस्य राजेन्द्र बजगाईंले अनुशासन समितिले गरेको कारबाहीको वैधतामाथि प्रश्न उठाएका छन्।

उजुरी, निवेदन परेको समयावधिको हिसाबले ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने विधानमा उल्लेख भएको जनाउँदै उनले कारबाही २०८४ सालको निर्वाचन र त्यसअघि हुने उपनिर्वाचनमा हुनसक्ने गठबन्धन र त्यसका उम्मेदवारलाई जिताउनेगरी गरिएको हुनसक्ने दाबी गरे। गुट विवादले तल्लो तहसम्म थिलथिलो बनेको कांग्रेसमा अन्तर्घात गरेको आरोपमा गरिएको कारबाहीले पार्टी संगठनलाई थप कमजोर बनाउने नेताहरूको बुझाइ छ।

अनुशासन समितिले आम निर्वाचनमा कांग्रेस र कांग्रेसले समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै परेको उजुरीउपर स्पष्टीकरण सोधिएको र चित्तबुफ्दो जवाफ प्राप्त नभएकाले कारबाही गरिएको प्रष्ट पारेको छ।

कोइराला निकट अर्का नेता गुरुराज घिमिरेले केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति, उपसभापति र महामन्त्रीले अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने सहमति बनेको दाबी गरे। त्यसविपरीत निर्णय बाहिर आएको जनाउँदै घिमिरेले पूर्वाग्रहका आधारमा कारबाही गरिएको दाबी गरेका छन्। अनुशासन समितिको कारबाही पार्टी विधान र नियमावलीविपरीत रहेको दाबी गर्दै घिमिरेले भने, ‘यो पक्षपातपूर्ण छ। यो गुट प्रेरित छ र यो पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने, पाखा लगाउने उद्देश्यमा आधारित छ।’

कोइराला पक्षले कारबाहीका विषयमा सभापति देउवासँग कुरा गर्ने भएको छ। समूहको बैठकले अनुशासन समितिको कारबाहीविरुद्ध पुनरावेदन गर्ने निर्णय पनि गरेको छ। पार्टीभित्र प्रतिस्पर्धी समूहलाई पाखा लगाउने, पेल्ने प्रयत्नको सभ्य तरिकाले प्रतिवाद गर्ने निर्णय पनि बैठकले गरेको छ।

१४औं महाधिवेशनमा शेखर कोइराला सभापतिका निकटतम प्रतिष्पर्धी थिए। आगामी महाधिवेशनमा पनि सभापतिको प्रत्यासी बन्ने तयारीसहित उनी देश दौडाहामा छन्। कोइराला निकट नेतालाई निरुत्साहित गर्न अनुशासनको कारबाही थालिएको निकटहरूको बुझाइ छ।

कांग्रेस विधानको व्यवस्थाअनुसार आगामी मंसिरभित्र १५औं महाधिवेशन हुनुपर्ने हो तर अहिलेसम्म त्यसका लागि कुनै तयारी छैन। कांग्रेसले विधानले दिएको अतिरिक्त सुविधा प्रयोग गर्दै एक वर्ष कार्यकाल थप गर्ने तयारी गरेको छ। शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह गगनकुमार थापालगायत नेतृत्वका आकांक्षी छन्। उनीहरू नेतृत्वमा पुग्न आआफ्नै ढंगबाट तयारी थालेका छन् । नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया