असार ३०, २०८२ सोमबार July 14, 2025

हरेक भुक्तानी विद्युतीय प्रणालीबाट अनिवार्य

सार्वजनिक निकायबाट हुने सबैप्रकारका भुक्तानी अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नयाँ आर्थिक वर्ष (१ साउन)बाट सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ । आर्थिक सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न सरकारले सम्पूर्ण सरकारी भुक्तानी प्रक्रिया ‘डिजिटल माध्यम’बाट सञ्चालन गर्ने नीति लिएको हो ।

अर्थ मन्त्रालयका अनुसार सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयले साउनउप्रान्त अनिवार्य विद्युतीय प्रणालीमार्फत भुक्तानी दिनुपर्ने भएको हो । जसअनुरूप नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, सार्वजनिक कम्पनी, बोर्ड, समिति तथा प्रतिष्ठान सबैले अनलाइनमार्फत भुक्तानी दिनुपर्नेछ ।

आव २०८२–८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार सार्वजनिक निकायबाट हुने सबैप्रकारका भुक्तानी अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय अर्थ मन्त्रालयले शुक्रबार गरेको थियो । यसको परिपत्र आइतबार गरिएको हो । सो मन्त्रालयअन्तर्गत कोष तथा लेखा नियन्त्रण कार्यालयले सबै मन्त्रालय, विभाग, आयोग, निकाय तथा स्थानीय तहलाई विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न आवश्यक निर्देशन यसअघि नै दिइसकेको छ । तर, त्यसबेला अनिवार्य गरिएको थिएन ।

अनिवार्य ई–पेमेन्ट प्रणाली

कर्मचारीको तलब–भत्ता, ठेकेदार–सेवाप्रदायकको भुक्तानी, सामग्री खरिद, अनुदान, सामाजिक सुरक्षा भत्ता, पेन्सनजस्ता भुक्तानी अनलाइन प्रणालीमार्फत बैंक खातामा जम्मा गर्नुपर्नेछ । यसले ‘क्यास’ कारोबारमा हुने अपारदर्शिता, ढिलाइ र दोहोरो भुक्तानीको सम्भावना अन्त्य गर्ने अपेक्षा गरिएको छ । यसका लागि प्रणालीमार्फत सबै लेखा र भुक्तानी प्रक्रिया एकीकृत गरिएको बताइएको छ । यसका लागि आवश्यक मानव स्रोत तालिम, सफ्टवेयर स्तरोन्नति र बैंकसँगको समन्वय भइसकेको दाबी अर्थ मन्त्रालयको रहेको छ ।

भ्रष्टाचार न्यूनीकरण

भुक्तानी अनलाइन प्रणालीमार्फत हुँदा पारदर्शिता वृद्धि हुने अनि खर्च देखिने र ट्र्याक गर्न मिल्ने हुन्छ । नगद प्रयोग घट्ने र अनियमितता कम हुने तथा भ्रष्टाचार न्यूनीकरण हुने दाबी अर्थ मन्त्रालयको रहेको छ ।

‘अनलाइन पेमेन्ट’का कारण समय र स्रोतको बचत हुनुका साथै प्रक्रिया छिटो, कागजी प्रक्रिया घट्ने भएको छ । साथै, लेखापरीक्षण सहज भई ‘डिजिटल्ली ट्रेस’ गर्न सकिने अपेक्षा गरिएको छ ।

आर्थिक अनुशासन कायम राख्न र भुक्तानीमा पारदर्शिता ल्याउन विद्युतीय प्रणालीको उपयोग अब विकल्प नभई अनिवार्य गरिएको हो । यो नीति प्रभावकारी कार्यान्वयनले नेपालको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई आधुनिक बनाउन ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

के समस्या हुन्छ ?

अहिले पनि समयसमय सरकारी कार्यालयमा ‘सिस्टम डाउन’ हुने र इन्टरनेट गति धिमा हुने गरेका कारण सेवाग्राहीलाई झन्झट र समस्या निम्तिने सम्भावना छ ।

ग्रामीण क्षेत्रका केही स्थानीय तहमा इन्टरनेट पहुँच र दक्ष जनशक्ति अभावले कार्यान्वयनमा कठिनाइ हुने पनि सम्भावना छ । अधिकांश गाउँपालिकाका सदरमुकाममा मात्र बैंकिङ पहुँच भएकाले समस्या उत्पन्न हुने सरोकारवाला बताउँछन् ।

ग्रामीण क्षेत्रमा इन्टरनेट र डिजिटल साक्षरता अभाव भएकाले कार्यान्वयनमा पनि समस्या रहेको छ । साइबर अपराधबाट डाटा संरक्षण गर्नु अर्को चुनौतीका रूपमा छ । अझै पनि कर्मचारीमा परम्परागत प्रणालीप्रतिको झुकाव र नयाँ प्रविधिमा अविश्वास कायमै रहेको अवस्था छ ।

यसअघि नै डिजिटल भुक्तानी

स्थानीय तहले सामाजिक सुरक्षा भुक्तानी, बालशिक्षा अभियानजस्ता योजना ‘डिजिटल वालेट’मार्फत गरिसकेका छन् । विद्यालय शुल्क, अस्पताल भुक्तानी इलेक्ट्रोनिक रूपमा थालनी भइसकेको छ ।

क्यासलेस अर्थतन्त्र अभ्यास

नेपाल सरकारको ‘डिजिटल नेपाल ढाँचा’अन्तर्गत सबै भुक्तानी डिजिटल बनाउने लक्ष्य लिएकाले यससँगै क्यासलेस अर्थतन्त्र अभ्यास हुने देखिएको छ । सन् २०२६ सम्ममा विश्वमा ‘डिजिटल वालेट’ चलाउने जनसंख्या ५ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ । यस अवधिसम्म ४० प्रतिशत डिजिटल भुक्तानी कारोबार ‘क्यूआर कोड’मार्फत हुने आ“कलनसमेत गरिएको छ ।

भुक्तानी प्रणाली आधुनिकीकरणका लागि नेपाल राष्ट्र बैंकले सन् २०१४ मा पहिलोपटक ‘भुक्तानी प्रणाली विकास रणनीति’ तर्जुमा गरेको थियो । सो रणनीतिअन्तर्गत भुक्तानी प्रणाली विभाग स्थापना भएको थियो । यस रणनीतिलाई भुक्तानी तथा फछ्र्याैट ऐन र भुक्तानी तथा फछ्र्यौट विनियमावलीले कानुनी आधार दिएको थियो ।

विद्युतीय भुक्तानी प्रवर्धनका लागि मौद्रिक नीतिले समेत समयसमय विभिन्न नीतिगत व्यवस्था गर्दै आएको छ । आव २०८२÷८३ को मौद्रिक नीतिमा समेत विद्युतीय भुक्तानीमा जोड दिइएको छ । विद्युतीय भुक्तानीमा भएको धेरै व्यवस्था मौद्रिक नीतिमा टेकेर अगाडि बढाइएको छ ।

ठूलो रकमको विद्युतीय भुक्तानीका लागि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालनमा ल्याइएको छ । आव २०७९÷८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षका रूपमा मनाउने घोषणा पनि मौद्रिक नीतिले गरेको थियो ।

नेपाल सरकारले प्राप्त गर्ने राजस्व र सबै प्रकारका भुक्तानी बैंकिङ तथा विद्युतीय भुक्तानीका माध्यमबाट गर्ने व्यवस्था गरिएको छ । डिजिटल कर्जा मार्गदर्शन बनाई कार्यान्वयनमा ल्याउने र विप्रेषणलाई ‘वालेट’ तथा कार्डका माध्यमबाट भित्रेयाउन सकिने व्यवस्था यसअघि नै गरिसकेको छ ।

विद्युतीय भुक्तानीमा रहेको पहुँच, कारोबार संख्या र कारोबार रकममा उल्लेख्य वृद्धि हुँदै गएको छ । मुलुकमा करिब २ करोड वालेट खाता सञ्चालनमा छन् भने दर्ता भएका मोबाइल बैंकिङ खाता सवा २ करोड रहेका छन् । केही समययता नेपालले विद्युतीय भुक्तानीमा उल्लेख्य प्रगतिसमेत हासिल गरेको छ ।

यसबाट आगामी ५ देखि १० वर्षको अवधिमा पूर्ण रूपमा डिजिटल बैंक सञ्चालनमा ल्याउनका लागि पर्याप्त आधार तय हुने देखिएको छ । विद्यमान बैंकलाई समेत बढीभन्दा बढी सेवा डिजिटल माध्यमबाट प्रदान गर्नका लागि प्रोत्साहन दिने राष्ट्र बैंकले रणनीति बनाएको छ ।

मौद्रिक नीतिमा विद्युतीय भुक्तानी

नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार जारी मौद्रिक नीतिमा पनि सरकारको बजेटमा भएको व्यवस्था नै पछ्याउँदै विद्युतीय भुक्तानीमा जोड दिइएको छ । केन्द्रीय बैंकले सुरक्षित भुक्तानी प्रणाली विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गरिने उल्लेख गरेको छ ।

वर्तमान परिवेशमा भुक्तानी प्रणाली सबल बनाउन ‘नेसनल पेमेन्ट सिस्टम डेभलपमेन्ट स्ट्राटेजी’ समीक्षा गरी नयाँ रणनीति तर्जुमा गरिने मौद्रिक नीतिमा उल्लेख छ । लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्न ‘डिजिटल लेन्डिङ गाइडलाइन’मा परिमार्जन गरिने भएको छ । भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन यस क्षेत्रमा हुने नवीन अभ्यास तथा नवप्रवर्तन प्रवर्धन गर्न ‘रेगुलेटोरी सायन्डबक्स’ सञ्चालनमा ल्याइने मौद्रिक नीतिमा उल्लेख छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार