श्रावण १, २०८२ बिहिबार July 17, 2025

‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष

महाधिवेशन तथा अधिवेशनहरूमा जिम्मेवारी नपाएर बाहिर रहेका नेताहलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, ३१ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले जनतासँग पार्टी र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदै गएको निष्कर्ष निकालेको छ । पार्टीको सङ्गठन विभागको बैठकमा सो अभियानले आम कार्यकर्ता चलायमान भएको निष्कर्ष निकालेको हो ।
सङ्गठन विभागका सचिव माधव ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा गत वर्षको माघदेखि चैतसम्म सञ्चालन गरिएको वडा केन्द्रित ग्रास रुट अभियानका कारण पार्टी गतिविधि बढेको, मातहतका अधिकांश पार्टी कमिटीको अधिवेशन भएको, पार्टी सदस्यता नवीकरण र विस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ ।
“जनतासँग पार्टी नेता र कार्यकर्ताको सम्बन्धमा सुधार आएको छ । जनसङ्गठनका महाधिवेशन र अधिवेशनहरू भएका छन्, उनीहरू क्रमशः आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिएको छ”, विज्ञप्तिमा भनिएको छ, “अभियानले जिम्मेवारी पाएका नेता कार्यकर्ताको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा सुधार आएको महसुस भएको छ ।”
विज्ञप्तिमा उल्लेख गरिएअनुसार सो अवधिदेखि हालसम्म करिब ९८ प्रतिशत पालिका कमिटीका अधिवेशन भएको, ८५ प्रतिशत वडाका अधिवेशन भएको र करिब १७ हजारमध्ये १० हजारभन्दा बढी टोल कमिटीहरू गठन गरिएको छ ।
विभागले महाधिवेशन तथा अधिवेशनहरूमा जिम्मेवारी नपाएर बाहिर रहेका नेताहलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय गरेको छ । एमालेका २३ वटा जनसङ्गठनका महाधिवेशन सम्पन्न भएका छन् । पार्टीका ७७ जिल्लामध्ये ४९ वटामा निर्वाचन र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया