कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

नेवार समुदायले श्रावण पूर्णिमालाई ‘गुःपुन्हि’ को रूपमा मनाउने परम्परा छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने जनैपूर्णिमा लगायत विभिन्न पर्वले विविधताभित्रको एकता, लैङ्गिक समानता र सामाजिक मिलनको सन्देश प्रवाह गर्दै आएको विश्वास व्यक्त गर्नुभएको छ ।

श्रावण पूर्णिमा तिथिमा मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) तथा गुँःपुन्हिको पावन अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नुहुँदै जनैपूर्णिमाजस्ता पर्वहरूले समुन्नत राष्ट्र निर्माणको मार्ग प्रशस्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभएको छ, “नेपालमा परापूर्वकालदेखि मनाइँदै आएका जनैपूर्णमाजस्ता पर्वहरू द्रुत गतिमा बदलिँदो आजको जीवनशैली र डिजिटल युगमा आत्मीयता, सांस्कृतिक महत्व तथा भावनात्मक पुनःस्थापनामा सकारात्मक प्रभाव पारिरहेको विश्वास लिएको छु ।”

विविध सांस्कृतिक परम्परामा धनी हाम्रो देश र समाजमा एकै तिथिमा विभिन्न नामले मनाइने रक्षाबन्धन, जनैपूर्णिमा तथा गुँःपुन्हि पर्वले आपसी प्रेम, सम्मान, एकता, सौहार्दता र सहयोगको सन्देश फैलाउँदै आएका छन् । भूगोल, जाति, समुदाय र क्षेत्रगत विविधतायुक्त यी मौलिक पर्वहरू रैथाने संस्कृति तथा परम्पराबाट समृद्ध छन्, जुन हाम्रो साझा पहिचान र राष्ट्रिय गौरवका प्रतीक पनि हुन् ।

तराई–मधेसमा मधेसीलगायतको समुदायका दिदीबहिनीले रक्षाबन्धनको अवसरमा दाजुभाइलाई राखी बाँध्दै दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीप्रति समर्पण र संरक्षणको भाव प्रकट गर्ने परम्परा रहीआएको छ । यसले पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउन सघाउँदछ ।

त्यस्तै, यो पर्व जनै पूर्णिमाका रूपमा मनाउनेहरूले यज्ञोपवीत परिवर्तन गरी ऋषिपुजन तथा तर्पण कर्म सम्पन्न गर्दै भव्य आस्थाका साथ मनाउँछन् । यस दिन गुरुजनहरूबाट मन्त्रपाठसहित बाँधिने रक्षासूत्र भय निवारण एवं आत्मबल सुदृढीकरणको प्रतीक मानिन्छ ।

नेवार समुदायले श्रावण पूर्णिमालाई ‘गुःपुन्हि’ को रूपमा मनाउने परम्परा छ । यस पर्वले नेवार समुदायमा शारीरिक शुद्धता, पारिवारिक स्वास्थ्य तथा समृद्धिको कामनासहित धार्मिक एवं सांस्कृतिक पुनर्जागरणको कार्यमा सहयोग गर्दछ ।

यस अवसरमा क्वाँटी खाने, विशेष प्रकारका रोटीहरू पकाएर घरका देवता तथा पुर्खाका नाममा चढाउने, धार्मिक अनुष्ठान गर्ने, परिवार र समुदायबीच जमघट गर्दै यो पर्व मनाइन्छ । उहाँले भन्नुभएको छ, “यस पर्वका अवसरमा मुलुकको राष्ट्रिय एकता, अखण्डता तथा सार्वभौमिकता अझ बलियो बनोस् भन्ने कामना गर्दै सबै नेपाली नागरिकको जीवनमा शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगति होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार