काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणका लागि समाजवादको आवश्यकता अपरिहार्य रहेको बताएका छन्।
पार्टी निकट नेपाल स्वतन्त्र सडक व्यापार संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खनालले गरिबी, पछौटेपन र विभेदको अन्त्य गरी औद्योगिक क्रान्ति गर्न समाजवादकै बाटो अपनाउनुपर्ने धारणा राखे।
उनले हालका कम्युनिष्ट पार्टीहरू नीति र सिद्धान्तविहीन हुँदै गएको आरोप लगाउँदै नेताहरूको आदर्श र जीवनशैलीमा विचलन देखिएको बताए। राजनीतिमा देखा परेका विकृति र विसंगतिलाई सुधार्न वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको उनको भनाइ थियो।
लिपुलेक प्रकरणमा सरकारलाई कूटनीतिक र राजनीतिक रूपमा भारतसँग उच्चस्तरीय छलफल गर्न आग्रह गर्दै उनले राष्ट्रियताको सवालमा दलहरूबीच साझा सहमति हुनुपर्नेमा जोड दिए।
मानसरोवर जोड्ने भूमि लिपुलेक नेपालको ऐतिहासिक आधार र प्रमाणले पुष्टि गर्ने उल्लेख गर्दै खनालले आसन्न भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट धारणा राख्ने विश्वास व्यक्त गरे। उनले राष्ट्र र राष्ट्रियताको विषयमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया