गण्डकी, २१ भदौः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा जीवनयापनका लागि सक्षम बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल दृष्टिविहीन कल्याण सङ्घको पोखरामा आयोजित ३८औँ केन्द्रीय वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्ति समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेका उल्लेख गर्नुभयो । उहाँहरूलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको भट्टको भनाइ छ ।
“समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति गरिने व्यवहार अझै सम्मानजनक नभएको तीतो यथार्थ हामीसामु छ । मुलुकमा दशकौँदेखि व्याप्त रुढीवादी, अन्धविश्वास, भेदभावलगायत कारणले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन्”, प्रदेश प्रमुख भट्टले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिले अवसर पाएमा आफूभित्र रहेको क्षमता प्रदर्शन गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवर्द्धन गर्न जरुरी रहेकामा प्रदेश प्रमुख भट्टले जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उहाँहरूको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
विसं २०३८ मा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकामा नाम परिवर्तनसँगै विसं २०४२ देखि दृष्टिविहीन कल्याण सङ्घ गैरनाफामुखी संस्थाका रूपमा अघि बढेको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, नेपाल नेत्रहीन सङ्घ, दृष्टिविहीन अभिभावक सङ्घ, नेपाल जस्ता एउटै उद्देश्यका साथ स्थापित संस्थाहरू एकआपसमा सहकार्य गरी अघि बढ्नुपर्ने प्रदेश प्रमुख भट्टले सुझाव दिनुभयो ।
सङ्घले नेत्र परीक्षण, आँखा शल्यक्रिया, वृक्षारोपण, सरसफाइ, छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान, ब्रेललिपी तालिम, सदस्यलाई लघुवित्त व्यावसायिक योजना सम्बन्धी क्षमता अभिवृद्धि एवं सीपमूलक तालिमको आयोजना, ब्रेललिपी पाठ्यपुस्तक उत्पादन तथा वितरण, दृष्टिविहीन विद्यार्थीको प्रतिभा प्रस्फुटन, पुरस्कार स्थापना र वितरणलगायत कार्यक्रम गर्दै आएको सङ्घ कास्कीका अध्यक्ष टेकमान प्रधानाङ्गले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया