काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता गरेका छन् । शनिबार कपिलवस्तुबाट आएका शाहले भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा भएको घटनाका विषयमा उजुरी दर्ता गराएका हुन् ।
शाहले जाहेरीमा ओली प्रधानमन्त्री रहेको बेला जेनजी आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा संलग्न युवामाथि दमन गरी गोली चलाउने आदेश दिएको आरोप लगाएका छन् । गोली चलाउँदा एक दर्जनभन्दा बढी युवाको ज्यान गएको र धेरै घाइते भएको उल्लेख गरिएको छ ।
जाहेरीअनुसार, मारिएका मध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाई, बुद्धि तामाङ, मिसल सारु मगर, उत्तमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा, निरज पन्तलगायत रहेका छन् । धेरैजसो युवाहरू संवेदनशील अंगमा गोली लागेर घटनास्थलमै मृत्यु भएका र अन्य धेरै अहिले पनि उपचाररत छन् ।
शाहले शान्तिपूर्ण आन्दोलन दमन गर्नु संविधान र प्रजातान्त्रिक अधिकारविपरीत भएको भन्दै घटनामा संलग्न सबै व्यक्तिको छानबिन गरी अपराध प्रमाणित भएकाहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । प्रहरी प्रशासनले जाहेरी दर्ता भइसकेको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ ।


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया