काठमाडौं, २ गते । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर आएका छन्।
गत भदौ २४ गतेको जेनजी आन्दोलन पछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली बालुवाटारबाट सेनाको हेलिकोप्टरमार्फत शिवपुरीस्थित सैनिक ब्यारेकमा लगेका थिए। त्यसयता उनलाई सेनाको उच्च निगरानीमा राखिएको थियो।
जेनजी आन्दोलनकै क्रममा बालकोटस्थित ओलीको निजी निवासमा आगजनी भएको थियो। घर जलेपछि आज उनलाई भक्तपुरको गुण्डुस्थित भाडाको घरमा सारिएको छ। सो स्थान पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतको निर्वाचन क्षेत्र हो। बस्नेतको पहलमा ओलीलाई सैनिक ब्यारेकबाट गुण्डुमा ल्याइएको एमाले स्रोतले जनाएको छ।
हाल उक्त घर वरिपरि एमालेका नेता तथा कार्यकर्ताहरूको ठूलो भीड लागेको छ। पार्टी स्रोतका अनुसार ओली केही दिनसम्म औपचारिक कार्यक्रममा सहभागी नहुने भएका छन्।
यसअघि भदौको दोस्रो सातामा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया