काठमाडौँ । इजरायली गुप्तचर इकाइहरूले गाजामा बन्धक बनेका नेपाली युवा विपीन जोशीको भिडियो प्राप्त गरेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त भिडियो बुधबार साँझ सार्वजनिक गरिने द जेरुसेलम पोस्टले जनाएको छ।
द जेरुसेलम पोस्टका अनुसार होस्टेज फ्यामिली फोरमले बुधबार बिहान विज्ञप्ति जारी गर्दै विपीन जीवित रहेको प्रमाणस्वरूप भिडियो प्राप्त भएको जानकारी दिएको हो। विपीनको परिवारलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “गाजामा प्राप्त यो जीवनको प्रमाणले हामीलाई उनी जीवित छन् भन्ने अटल विश्वास दिलाएको छ।”
विपीन जोशी गत वर्ष अक्टोबर ७ को हमास हमलाभन्दा तीन हप्ता अघि मात्रै कृषि शिक्षा कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। उनलाई किबुट्ज अलुमिमबाट अपहरण गरिएको थियो, जहाँ अन्य नेपाली नागरिकहरू पनि बसोबास गर्थे।
वाल स्ट्रिट जर्नलको नोभेम्बर २०२३ को रिपोर्टअनुसार, हमलाको समयमा विपीनले आफ्नो समूहका साथीहरूको ज्यान बचाएका थिए। झ्याल नभएको कोठामा दुईवटा ग्रेनेड फालिँदा उनले एउटा समातेर बाहिर फालेका थिए, तर दोस्रो फाल्न नसक्दा त्यसको विस्फोटले उनका पाँच साथीहरू गम्भीर घाइते भएका थिए।
द जेरुसेलम पोस्टले उल्लेख गरेअनुसार, विपीनलाई हमासले अपहरण गरी केही समय गाजास्थित शिफा अस्पतालमा राखेको थियो। उनी जीवित रहेको ठोस प्रमाण भने अहिलेसम्म प्राप्त भएको थिएन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया