काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा स्थिति र विपद् व्यवस्थापनबारे छलफल गरेका छन्।
छलफलमा गृह सचिव रामेश्वर दंगाल, नेपाली सेनाका रथी प्रदीप जङ्ग केसी, नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की लगायत सहभागी थिए।
करिब पौने दुईघण्टासम्म चलेको बैठकमा गृहमन्त्री अर्यालले पछिल्ला राजनीतिक घटनाक्रम, जनस्तरमा देखिएका गतिविधि तथा विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकायका प्रमुखहरूबाट जानकारी लिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
दुर्गा प्रसाईं नेतृत्वको समूहले छठपछि गर्ने भनेको प्रदर्शनबारे पनि छलफल भएको बैठकमा सहभागी सुरक्षा निकाय सम्बद्ध एकजना अधिकृतले बताए । प्रसाईं नेतृत्वको प्रदर्शनमा हुनसक्ने सुरक्षा खतराको विश्लेषण गरिएको छ ।
अबका दिनमा हुनसक्ने सुरक्षा चुनौती र सुरक्षाकर्मी परिचालनबारे छलफल भएको छ । बैठकमा सहभागी एकजना अधिकृत भन्छन्, ‘समग्र शान्ति सुरक्षाको पछिल्लो अवस्था र सम्भावित सुरक्षा चुनौतीबारे छलफल भएको छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया