काठमाडौँ । नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सर्साइज क्याम्ब्रियन पेट्रोल–२०२५’ मा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेको छ।
यो प्रतियोगिता विश्वकै प्रतिष्ठित सैन्य सहनशीलता अभ्यास मानिन्छ, जसमा संयुक्त अधिराज्यसहित ३३ राष्ट्रका ११७ टोलीले प्रतिस्पर्धा गरेका थिए। सन् १९६० देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि निरन्तर सहभागिता जनाउँदै आएको हो।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई दिनभित्र हतियार तथा करिब ५० पाउण्ड तौल बराबरका उपकरण र बन्दोबस्ती सामग्रीसहित करिब ५० किलोमिटर दूरी पैदल पार गर्नुपर्ने हुन्छ। सो क्रममा टोलीहरूको सामरिक योजना, सर्तकता, सूचनासङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापनजस्ता विभिन्न सैनिक सीप र तयारी क्षमताको परीक्षण गरिन्छ।
यससँगै नेपाली सेनाले यो प्रतिष्ठित प्रतियोगितामा चौथोपटक स्वर्ण पदक जितेको हो। यसअघि सेनाले सन् २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण जित्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दक्षता र व्यावसायिकता प्रमाणित गरिसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया