बैसाख ९, २०८३ बुधबार April 22, 2026

वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्ने

गाउँसम्म पुग्ने सडक नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके), ९ वैशाखः बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी क्षेत्रका वस्तीबाट वडा कार्यालय पुग्न करिब २४ किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ ।

भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित बासखली, चुनभट्टी, खैरभट्टी, कुन्टेपानी, महेशपुर, गुर्दनगौडी, जुरुवा र तल्लो बासखली लगायतका क्षेत्रबाट वडा कार्यालय राप्तीसोनारी–४ बैजापुर पुग्न कम्तीमा चार घण्टा लाग्ने बैजापुरका स्थानीय अगुवा तुलसीराम थारुले बताउनुभयो ।

“सडक नहुँदा वडा कार्यालयमा सेवा लिन चार घण्टा हिँडेर पुग्नुपर्ने बाध्यता रहेको छ”, थारुले भन्नुभयो, “यहाँका जनताले स्थानीय सरकारको अनुभूतिसम्म गर्न नपाएकाले अब सहज सेवा सुविधाको लागि छुट्टै वडा कायम गर्नुपर्दछ ।”

उहाँका अनुसार, राप्तीसोनारी गाउँपालिकाको दुर्गम क्षेत्रका रूपमा चिनिने गुर्दनगौडी र खयरभट्टी क्षेत्रका जनताको अवस्था निकै कष्टकर छ । यस क्षेत्रका जनताले अझै पनि आधारभूत सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ । वडा कार्यालयबाट खयरभट्टीसम्म करिब १४ किलोमिटर दूरी भए पनि भारतीय सीमा क्षेत्रमा रहेको महेशपुर थप १० किलोमिटर टाढा रहेको छ ।

वडा कार्यालयको केन्द्र बैजापुरबाट टाढा र दुर्गममा पर्ने भएकाले खयरभट्टी क्षेत्रमा सेवा प्रवाहमा कठिनाइ हुने गरेको वडाध्यक्ष मीनराज खड्काले जानकारी दिनुभयो । खयरभट्टी क्षेत्रका नागरिक न्यूनतम आधारभूत सेवाबाट वञ्चित रहँदै आएका छन् । तीन सय ५० घरधुरी र करिब ४०० मतदाता रहेको यो क्षेत्रलाई छुट्टै वडा र मतदान केन्द्र कायम गर्नुपर्ने माग अनौपचारिक रुपमा उठ्दै आए पनि औपचारिक रुपमा प्रवेश हुन नपाएको उहाँले बताउनुभयो ।

गाउँसम्म पुग्ने सडक नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य, शिक्षा र खानेपानीको समस्या रहेको छ । गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष खड्काले नागरिकलाई पायक पर्ने स्थानमा वडा कार्यालय र मतदान केन्द्र कायम गरिनुपर्ने माग औपचारिक रुपमा माग आए कार्यपालिकामा पेस गरेर प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

यो क्षेत्रमा स्वास्थ्य चौकी वा सहज स्वास्थ्य सेवाको पहुँच नहुँदा सामान्य बिरामी पर्दा निकै टाढासम्म जानुपर्ने र प्रसूति सेवाको अभावमा जोखिमपूर्ण अवस्थामा बस्नुपर्ने बाध्यता छ । शिक्षाको अवस्था नाजुक छ । बालबालिकाहरू लामो दुरी पैदल हिँडेर विद्यालय जान बाध्य छन्, जसले गर्दा विद्यालय छोड्ने दर उच्च छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दीलबहादुर तामाङले मतदान केन्द्र स्थापना गर्ने कार्य समस्या नरहेको बताउनुभयो । वडा विभाजनको कुरा औपचारिक रुपमा कार्यपालिकाबाट निर्णय भएर आए आफूले आवश्यक समन्वयका साथ अगाडि बढाउने उल्लेख गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया