असोज ६, २०८३ मंगलबार September 22, 2026

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

बेनी–जोमसोम सडक भएर पछिल्लो चार दिनमा ३० हजार जनाभन्दा बढी पर्यटक भित्रिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, १७ जेठः म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग–तातोपानी र मुस्ताङका सबै पर्यटकीयस्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन् ।

म्याग्दीको गलेश्वर, भुरुङ्ग–तातोपानी, रुप्से, महभिर झरना र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको छ । गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार चार दिनको सार्वजनिक बिदाका कारण आन्तरिक पर्यटकको आगमन बढेपछि होटल भरिभराउ भएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका होटल व्यवसायी राजु हमालले बताउनुभयो ।

“भारतबाट गर्मी छल्न आएका र बिदा मनाउन देशका विभिन्न ठाउँबाट आएका पाहुनाले होटल भरिएका छन्”, उहाँले भन्नुभयो, “मुस्ताङका होटलमा अटाउन नसकेका पाहुनाहरू म्याग्दी, बागलुङ, कुश्मा र पोखरासम्म व्यवस्थापन गरिएको छ ।”

भुरुङ्ग–तातोपानी कुण्डका सञ्चालक हेमनारायण पुनले मुस्ताङ जाने आउने पर्यटकहरुको चापले भ्याइनभ्याई भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बेनी–जोमसोम सडक भएर पछिल्लो चार दिनमा ३० हजार जनाभन्दा बढी पर्यटक भित्रिएका छन् । घाँसा प्रहरी चौकीको अभिलेखअनुसार बुधबार पाँच हजार ५८६, बिहीबार सात हजार ८२७ र शुक्रबार नौ हजार ८६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।

शुक्रबारकै हाराहारीमा शनिबार पनि पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो । प्रहरी चौकी घाँसामा सवारीसाधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ । मुस्ताङका होटलमा एक दिनमा १० हजार पाहुना राख्न सक्ने क्षमता रहेको छ । म्याग्दीका होटलमा दैनिक दुई हजार जना बास बस्न सक्ने क्षमता छ ।

मुस्ताङ भित्रिने अधिकांश स्वदेशी पर्यटक घाँसादेखि चीनको सीमा क्षेत्र कोरलासम्म पुग्ने गरेका छन् । माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या हुनसक्ने भएकाले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको छ । आन्तरिक पर्यटकको बसाइ सामान्यतया दुईदेखि चार दिनसम्म हुने गरेको छ ।

भारतको बिहारबाट आएका शम्भु साहले गर्मी छल्न र तीर्थयात्राका लागि परिवार तथा छिमेकीहरू मिलेर बस रिजर्भ गरेर मुस्ताङ घुम्न आएको बताउनुभयो । चार दिनको सार्वजनिक बिदाको सदुपयोग गर्न परिवार र साथीभाइ मिलेर मुस्ताङ तथा ढोरपाटन घुमेर फर्किएको काठमाडौँका हरि न्यौपानेले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा बाढीपहिरो र स्तरोन्नतिका लागि सवारीसाधन बन्द हुँदा यात्राका क्रममा दुःख भएको पर्यटकहरूले गुनासो गरेका छन् । मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरलानाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार