असार १३, २०८३ शनिबार June 27, 2026

एमालेमा अध्यक्ष हटाउने एजेन्डा छैन, पुनर्गठनबारे भ्रम फैलाइयो : एमाले उपमहासचिव, लेखराज भट्ट (अन्तवार्ता)

‘प्रचण्डले एकता भन्दै आए पनि हाम्रो अध्यक्षले सहकार्य मात्रै भन्नुभएको छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रचण्डको हिजो एमालेसँग मिल्नेसक्ने कुरा गर्नुभयो, कुनै तयारी हो ?
सहकार्यका लागि छलफल भएको बुझेको छु । एकता नै अहिले नै हुने गरी भएको त मलाई जानकारी भएन ।

भनेपछि मिलन सम्भावित हो ?

सहकार्यको त छलफल चलेको हो । अहिले धेरै प्रदेशहरूमा सँगसँगै सरकार निर्माण गर्ने भन्ने कुरा त व्यवहारमा पनि भएको छ। अब एकता नै एकताको सम्भावना छैन । पार्टीमा त्यसरी छलफल भएको पनि छैन ।

अनौपचारिक छलफलले प्रवेश पाएको छ ?
एकता नै त प्रचण्डले त भन्दै आएका छन् । तर, हाम्रो अध्यक्षले अहिले एकता होइन भन्नुहुन्थ्यो । अहिले सहकार्य गर्ने हो । सहकार्य गर्दै–गर्दै एकतासम्म जान सक्छ भनेको हो ।

भनेपछि आगामी प्रदेशसभा र स्थानीय तहको चुनावमा सहकार्य हुन्छ ?
सहकार्य गरेर जानुपर्छ भन्ने कुरा छ । चुनावमा त नेकपासँग मात्रै होइन कांग्रेससँग पनि सम्भावना हुनसक्छ । जस्तो अब सुदूरपश्चिममा कांग्रेस र एमालेकै सरकार अहिले पनि छ  । यो खालको त हुनसक्छ। अब त्यो भन्दा अहिले विस्तृत रूपमा पार्टी एकता गर्ने भनेर पार्टीमा एजेन्डा नै भएर आएको छैन ।

यही चर्चाको बीच भोलि शीर्ष नेताहरू एउटै मञ्चमा देखिँदै हुनुहुन्छ, यो संयोग मात्रै हो कि पूर्वतयारी ?
राजनीतिक पार्टीहरूको कहिलेकाहीँ कार्यक्रम एउटै ठाउँमा पर्न सक्छ । त्यो खालको साझा एजेन्डा बनाएर होइन । त्यो त संयोग पनि हुन सक्छ । अहिले योजनाबद्ध रूपमा गएको त मलाई लाग्दैन।

विद्या भण्डारी प्रमुख अतिथि हुनुहुन्छ, उहाँकै नेतृत्वमा एकताको बहस पनि चलिरहेको छ ?
मिडियामा आइराखेको छ। तर, पार्टीभित्र त्यसरी छलफल भएको मलाई थाहा छैन ।

कम्युनिस्ट एकताको सम्भावना अहिले देख्नुभएकाे छ ?
अहिले कम्युनिस्ट एकताको माहौल देखिराखेको छैन । अहिले तल्लो तहमा सुरुवात सहकार्य, कार्यगत एकता हुँदै अनि त्यहाँसम्म जाने हो। त्यो त अन्तिम स्टेप हो, त्यो खालको छलफल भएको मलाई लाग्दैन ।

तर, अध्यक्षको विकल्पमा उहाँ (विद्या) को चर्चा हुँदै आएको छ नि ?
अहिले मान्छेहरूले पुनर्गठनको परिभाषा पनि आ-आफ्नो ढङ्गले गरिरहेका छन् । एउटा व्यक्ति विशेषलाई टार्गेट गरेर सबै चिज बदलिन्छ, रूपान्तरण हुन्छ भन्ने विषय होइन। आआफ्नो जिम्मेवारीको तहबाट कमीकमजोरी त हुन सक्छन् नि । यो एउटा व्यक्ति विशेषलाई टार्गेट गरेर पार्टी रूपान्तरित होला जस्तो लाग्दैन ।

अहिले तलबाट सुझाव लिने कुरा भएको छ, कार्यदल गइरहेको छ । तलका कुरा पनि सुन्ने, त्यसपछि अब बैठक बसेर त्यसको निचोड के आउँछ । त्यसपछि केन्द्रीय समितिमा जाने होला । अहिले फलानालाई हटाइहाल्ने, फलानाको विकल्प यो हो भन्ने कुरा पार्टीमा आएको छैन । निर्णय पनि भएको छैन ।

विधानले पनि अहिले नै हटाउने ठाउँ दिँदैन । अब विधानको कुन दफा प्रयोग गरेर हटाउने हो  ? मैले कहीँ पनि त्यो देख्दिनँ, एकजनालाई केन्द्रित गरेर त्यो सम्भावना पनि छैन । अब अध्यक्षले नै ल मैले छोडेँ है, अब विकल्प खोजौँ भन्नुभयो भने एउटा खालको निकास होला । एमालेमा धेरै युवा नेताहरू जन्मिसकेका छन् । जस्तो, सुहाङ नेम्वाङ, महेश बर्तौलालगायत, छोड्ने हो भने त्यो बाटो होला जस्तो लाग्छ । अहिले फलानाको ठाउँमा फलाना भन्ने त्यस्तो छलफल भएको छैन ।

सुहाङ नेम्वाङ, महेश बर्तौलाको नाम लिनुभयो। उहाँहरूको पुस्तालाई अघि सारेर अध्यक्षले नेतृत्व छाड्ने सम्भावना छ ?
मैले भनेको अब दिने भए चौथो पुस्तामा जान सकियो । तलबाट निगरानी राख्ने, सहयोग गर्ने, निर्देशन दिने र उनीहरूलाई परिपक्व बनाउने चौथो पुस्तालाई। मैले नाम त एउटा उदाहरणको लागि लिएको, एमालेले सयौँ त्यस्ता युवा नेता, हजारौँ कार्यकर्ता उत्पादन गरेको छ, परिपक्व छन् ।

अब वैचारिक रूपले अब खारिएका पनि छन् । अहिलेको गतिलाई समाउन सक्ने पनि छन्। अहिलेको आवश्यकता र गतिलाई समाउन सक्ने, अहिलेको प्रविधिदेखि लिएर राजनीतिलाई बुझ्न सक्ने। त्यसैले एउटा व्यक्ति विशेषलाई समातेर फलानालाई हटाएपछि पार्टी गजब बन्छ भन्ने लाग्दैन ।

तर तल्लो तहबाट अध्यक्षको विकल्पमै जानुपर्छ भन्ने सुझाव आएको भनिन्छ नि ?
म पनि त्यो कार्यदलमा छु । अहिले विभिन्न सुझाव आएका छन्। त्यसपछि महासचिवले लेखन गर्नुहुन्छ। त्यसमा स्वयं महासचिवले बसेर छलफल गरेर अनि कार्यदलको बैठकमा ल्याउने होला। त्यसपछि सचिवालय हुँदै केन्द्रीय समितिमा जाला । तर अहिले त्यस्तो केही भएकै छैन ।

भनेपछि कार्यदलको प्रतिवेदनले नै पुनर्गठनको बाटो तय गर्छ ?
अध्यक्षलाई हटाउनु नै पुनर्गठन भन्ने बुझिरहेका छन् । अहिलेसम्मको अभ्यासमा पुनर्गठन भनेको विभिन्न तहसम्मका सङ्गठनलाई पुनर्संगठित गर्ने, त्यसलाई रूपान्तरण गर्ने, नेता कार्यकर्ताहरूको विचारमा रूपान्तरित भएर जाने भन्ने हो । त्यसैले अहिले पुनर्गठनबारे बुझाइमै फरक देखिएको छ ।

त्यसो भए पुनर्गठनबारे निर्णय कार्यदलको प्रतिवेदन आएपछि केन्द्रीय समितिबाटै हुन्छ ?
त्यसको छिनोफानो केन्द्रीय समितिबाटै हुन्छ। अहिले आएका सबै बहसका विषय मात्रै हुन् । नेपाल प्रेश

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया