जेठ ६, २०८३ बुधबार May 20, 2026

‘निर्वाचनबाट दायाँबायाँ हुने छुट छैन’ : गृहमन्त्री, ओमप्रकाश अर्याल (अन्तवार्ता)

हालै मुलुकका केही भूभागमा देखिएका केही छिटपुट झडपलगायतका घटनाले निर्वाचनलाई कुनै असर गर्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शान्तिसुरक्षा निर्वाचनको प्रमुख आधार र आवश्यकता हो । नेपाल सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्याल बिनाकुनै अवरोध, निर्धक्क र निर्भयका साथ मतदान गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्दै निर्वाचनमा पूर्ण सुरक्षा प्रबन्ध गरिएको बताउनुहुन्छ । विशेष गरी निर्वाचनको तयारी र शान्तिसुरक्षाको अवस्थामा केन्द्रित रहेर राससका समाचार महाशाखा उपप्रमुख एकराज पाठकले उहाँसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :

यतिखेर मुलुक निर्वाचनमय भएको छ । आसन्न निर्वाचनका अब केही दिन मात्र बाँकी छन् । निर्वाचनको तयारी के कस्तो छ ? 

वर्तमान सरकारको पहिलो प्राथमिकता समयमै निर्वाचन सम्पन्न गर्नु हो । निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको छ । धेरैअघि नै निर्वाचन आयोगले ९० प्रतिशत काम सकिसकेको बताएको थियो र अब त्यो पनि पूर्ण भइसकेको अवस्था छ । अब मलाई लाग्छ, २१ गते मतदान गर्ने प्रक्रियागत काम मात्र बाँकी छ, अरू तयारी सकिएको छ । सुरक्षाको कुरा गर्दा पनि एकीकृत सुरक्षा योजना धेरै पहिलेदेखि नै लागु भइसकेको छ र त्यसलाई कुशलतापूर्वक गृह प्रशासनले सम्पादन गरिरहेको छ ।

नागरिकले ढुक्क भएर मतदान गर्न पाउने गरी मुलुकको सुरक्षा संयन्त्र के कसरी परिचालित भएको छ ?  

आसन्न निर्वाचनका लागि नेपाल सरकारले सुरक्षाव्यवस्था मजबुत बनाएको छ । त्यसैले म सबै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह पनि गर्छु । पहिलेदेखि नै एकीकृत सुरक्षा योजना लागु गरेर त्यसैबमोजिम सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षाव्यवस्थालाई सुदृढ र सबल बनाएको छ । जस्तो कि– निर्वाचनसम्बन्धी कमान्ड पोस्टले केन्द्र, प्रदेश तथा जिल्लास्तरमा रहेर काम गरिरहेका छन्, एकीकृत सुरक्षा योजनाले परिकल्पना गरेका संयन्त्रमार्फत सोहीबमोजिम निर्वाचन सेल पनि परिचालन गरिएको छ । गृह प्रशासनले दिनहुँ जसो अवस्था, आवश्यकता र चुनौती विश्लेषण गरेर सुरक्षालाई केन्द्रमा राखेर काम गरिरहेको छ । गृह मन्त्रालयले निर्वाचनसम्बन्धी एकीकृत सुरक्षा योजना बनाइसकेपछि त्यसले नै विभिन्न संयन्त्रको परिकल्पना गरेको छ । ती संयन्त्र गठन भएर चुस्तदुरुस्त रूपमा काम गरिरहेका छन् ।

पछिल्लो समयमा सुरक्षा खलबलिन सक्ने खालका केही छिटपुट घटना पनि देखिएको छ । तिनले निर्वाचनलाई असर त गर्दैन ? 

हालै मुलुकका केही भूभागमा देखिएका केही छिटपुट झडपलगायतका घटनाले निर्वाचनलाई कुनै असर गर्दैन । हामीले पूर्वसूचना लिने र रोकथामकै चरणमा बढी मेहनत गर्ने र तिनको सम्बोधन गर्ने गरेका छौँ । सकेसम्म संवादबाट नै समाधान खोज्ने काम गरेका छौँ । अन्य आवश्यक रणनीति लिएका छौँ र समयमै समाधान गरेका छौँ । यी घटनाबाट निर्वाचनको सुरक्षामा कुनै असर गर्दैन । त्यस्ता घटना धेरै होइन, छिटपुट हुन् र सबै परिस्थिति काबुभित्रै छ ।

मानिसले अहिले पनि सुरक्षाको कुरा गर्दा गत भदौको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हतियार सुरक्षाका चुनौती छन् भन्ने गरेका छन् । के त्यस्तो अवस्था हो र ?  

यो त्यति ठुलो चुनौती होइन । गत भदौको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी एवं लुटिएका हतियार अब सुरक्षा चुनौतीका रूपमा छैनन् भनेर स्पष्ट गर्न चाहन्छु । धेरै जसो हतियार र भागेका कैदीबन्दी हामीले फिर्ता गरिसकेका छौँ । जे जति बाहिर हुनुहुन्छ, उहाँहरूलाई पनि फिर्ता गराउन पहिलाभन्दा अझ बढी मेहनत गरिरहेका छौँ । सबैतिर सुरक्षाकर्मी परिचालित छन् र सरोकारवाला आफैँ पनि लागिपर्नु भएको छ । उहाँहरूलाई पनि त्यस्तो कुनै सूचना भएमा दिन अनुरोध गरिरहेकै छौँ । भागेकाले बाहिर गएर फेरि अपराध गरेका तथा ती हतियार प्रयोग गरेका सूचना अहिले आएको छैन ।

देशका उच्च हिमाली क्षेत्रका जिल्लामा मतदाता नभएकाले जिल्लाका सदरमुकाममा सार्नुपर्ने माग पनि आइरहेको छ । के यो सम्भव छ ? यस विषयमा गृह मन्त्रालयले केही तयारी गरेको छ कि ? 

यस विषयमा गृह प्रशासन एवं निर्वाचन आयोग पनि तयार नै छ । जिल्लाका पालिका पनि यसका मुख्य सरोकारवाला नै हुन् । उनीहरूको र दलीय सिफारिस अनि उम्मेदवारको सहमति हुनु प¥यो । फेरि उनीहरूले यसका लागि मतदाताको पनि मनसाय बुझेर एकप्रकारको सर्वसहमति गर्नु पर्छ । यदि त्यसो भयो भने हामीले सम्बोधन गर्ने छौँ ।

नेपाललाई निर्वाचनका समयमा वैदेशिक सहायता पहिला पनि आउने गरेको हो । यस पटकको निर्वाचनमा नेपाल सरकारलाई के कस्तो स्वरूपमा वैदेशिक सहायता प्राप्त भयो ?  

यो सरकार गठन हुँदाको दिनदेखि नै मित्रराष्ट्र, संयुक्त राष्ट्रसङ्घीय निकायले बधाई तथा शुभकामना दिनुभएको थियो । त्यसपछि निर्वाचन सम्पन्न गर्नका लागि चाहिने अरू सरसहयोग, आर्थिक सहयोगलगायत भौतिक सहयोग, जे आवश्यक पर्छ, नेपाललाई मित्रराष्ट्रहरूले नै सहयोगको प्रस्ताव गरेका हुन् । त्यसमध्ये आफूलाई चाहिने जति सहयोग नेपाल सरकारले विभिन्न मित्रराष्ट्रबाट लिएको छ ।

भदौको जेनजी आन्दोलनपछि छ महिनामै निर्वाचनको आजको अवस्थासम्म ल्याउन कसरी सम्भव भयो ? सरकारले कसरी काम ग¥यो र यो छोटो अवधिमै निर्वाचन सम्भव भयो ?

भदौ अन्तिम साताको अवस्था हेर्दा कानुनी राज्यविहीनताको अवस्था थियो । त्यो कानुनी राज्यविहीनताको अवस्थाबाट हामीले कानुनी राज्यको बहालीको अवस्थामा ल्याइपु¥याएका छौँ । हाम्रो रणनीति कुनै पनि हालतमा द्वन्द्व दोहोरिन दिनु हुँदैन र स्थिति सामान्यीकरणतर्फ लैजानै पर्छ भन्ने थियो । सोहीबमोजिम हामीले सुरुमै द्वन्द्व न्यूनीकरण ग¥यौँ र अहिंसाको अपिल पनि ग¥यौँ । त्यसपछि बिस्तारै कानुनी संयन्त्रले काम गर्न थाले । यसपश्चात् बिस्तारै हामीले सेवा प्रवाहलाई सुदृढ बनाउँदै लग्यौँ । यो विद्रोहपछि सरकार भएकाले सुशासन दिनु पर्छ भन्ने लाग्यो र हामी सुशासनमा केन्द्रित बन्यौँ । विद्रोहपछि बनेको सरकारले मुलुकको, मानवताको र संविधानको रक्षाका लागि केन्द्रित भएर काम गरेका थियौँ । त्यसकारण पनि आजको यो अवस्था सिर्जना हुन सक्यो भन्ने हामीलाई लाग्छ ।

निर्वाचनका अब धेरै दिन बाँकी छैनन् तर अझै पनि कतिपय मिडिया, सामाजिक सञ्जाल या व्यक्तिबाट समयमै निर्वाचन हुने विषयमा संशय व्यक्त भइरहेको अवस्था छ । यस विषयमा यहाँ के भन्नुहुन्छ ?  

निर्वाचनको सबै तयारी भइसकेको छ र हुन्छ । जसले निर्वाचन सार्ने भाष्य बनाउँछ र त्यसखालको परिस्थिति निर्माण गर्न खोज्छ, त्यस्तो प्रवृत्तिलाई मुलुकको राज्य संयन्त्रले निस्तेज पार्ने छ र त्यसका लागि यो सरकार जनताको साथ र सहयोग लिएर अघि बढ्नेछ । यो सरकार संवैधानिक रिक्ततालाई परिपूर्ति गर्ने र संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा बहाली गर्ने प्रयोजनले आएको सरकार हो । यो राज्यको एक अत्यन्तै फरक परिस्थितिले जन्माएको सरकार हो । राष्ट्रपतिजीले फागुन २१ मा नै निर्वाचनको मिति तोक्नुको कारण पनि संसद् विघटन भएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान अनुरूप नै हो । हामीले संविधानको रक्षा गर्ने र संविधान अनुसार चल्ने शपथ खाएका छौँ । त्यसैले हामीले खाएको निष्ठा जाँचिने गरी नै काम गर्नु पर्छ र समयमै निर्वाचन सम्पन्न गर्नु पर्छ । निर्वाचनबाट दायाँबायाँ हुने छुट नै छैन ।

अन्त्यमा, निर्वाचनका अब केही दिन मात्र बाँकी रहँदा एक गृहमन्त्रीको हैसियतले सबै नेपाली नागरिकलाई केही सन्देश दिन चाहनुहुन्छ ? 

यो नागरिक सरकार हो, त्यसैले निष्पक्ष सरकार हो । यो सरकारले पहिलेको भन्दा अझै निष्पक्ष र गुणस्तरीय चुनाव गराउनु पर्छ । स्वतन्त्र ढङ्गले, निष्पक्ष र भयरहित रूपमा यो सरकारले निर्वाचन सम्पन्न गर्ने हो । त्यसका लागि आवश्यक सबै पूर्वाधार तयार गरिसकेका छौँ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
२०८३ जेठ ६, बुधबार
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
२०८३ जेठ ६, बुधबार
कञ्चनपुर-कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
२०८३ जेठ ६, बुधबार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
२०८३ जेठ ६, बुधबार
राष्ट्र बैंकद्धारा बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ जेठ ६, बुधबार
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
२०८३ जेठ ६, बुधबार
सिटीको बराबरीसँगै आर्सनलको उत्सव, २२ वर्षको उपाधि खडेरी अन्त्य
२०८३ जेठ ६, बुधबार