असार १६, २०८३ मंगलबार June 30, 2026

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

गाउँमा गोरु पाल्ने किसानको सङ्ख्या घट्दै जाँदा हलो, जुवा, फालीलगायत परम्परागत कृषि सामग्री पनि प्रयोगविहीन बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तानसेन (पाल्पा), १६ असारः एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल गोरुले खेत जोतेर धान रोपाइँ गर्ने दृश्य माथागढी गाउँपालिका देउगीरका ७२ वर्षीय जीवन घर्तीको मानस्पटमा अझै ताजै छन् ।

“हँ हँ माले हँ हँ, हँ हँ तारे गर्दै असार र साउन महिनामा खेतमा गोरु कुदाउने गर्थे, अघिअघि हली पछिपछि रोपाराले गीत गाउँदै खेत जोत्ने गरेको देख्दा रमाइलो लाग्थ्यो । हामीले पनि गोरु जोतैरै रोपाइँ गर्यौंं तर हिजोआज भने ट्याक्टरले जोत्न थाले”, घर्तीले भन्नुभयो, “अहिले गाउँमा हलगोरु भेट्याउनै मुस्किल पर्छ ।” गाउँमा अहिले एक–दुई हल गोरु मात्रै रहेका उहाँले बताउनुभयो ।

आफूले ६० वर्ष पुग्दासम्म पनि हलगोरु पालेरै जोतेको घर्तीको भनाइ छ । “पहिला सबैले गोरु पालेरै जोत्थे तर अब त किसानहरूले गोरु पाल्नै छाडे”, उहाँले भन्नुभयो, “गाउँघरमा अहिले एक, दुई हल मात्रै गोरु छन्, मैले उमेर हुँदासम्म घरमै गोरु पालेरै जोत्ने गर्थे तर अहिले बुढो भएर सक्दिन ।” मकै रोप्ने र जोत्नेबेला छोराहरुले ट्याक्टर ल्याएर जोत्ने गरेको उहाँले सुनाउनुभयो ।

पूर्वखोला गाउँपालिका रिङनेरहका वीरबहादुर सारुले खेतबारी जोत्न सहज रूपमा ट्याक्टर पाइन थालेपछि विगत पाँच वर्षदेखि गोरु पाल्न छाडेको बताउनुुभयो । पाखाको बारी र फेदीको खेत ट्याक्टरले जोत्न थालेपछि गोरु बेचेको सारुको भनाइ छ ।

गाउँघरबाट युवापुस्ता वैदेशिक रोजगारीमा पलाएन हुनेक्रम बढेसँगै हलगोरु पालेर खेती लगाउने प्रचलन पनि हराउँदै गएको ६० वर्षीय सारुले बताउनुुभयो । “बढेका छोरा, बुहारी सहर र विदेशतिर पसेकाले गाउँघरमा घाँस काट्ने, गोरु जोत्ने मान्छे पनि छैनन्”, उहाँले भन्नुुभयो, “अब सबै सुखसँग बस्ने भए, गोरु पाल्ने मान्छे गाउँघरमा भेट्नै मुस्किल छ ।”

यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय यहाँका अधिकांश फाँटमा गोरुले खेतबारी जोत्ने परम्परा विस्तारै हराएको छ । कृषि क्षेत्रमा आधुनिक मेसिनको प्रयोग बढ्दै जाँदा गोरुको स्थान ट्याक्टर, मिनी टिलर र पावर टिलरले लिन थालेका छन् ।

पहिले हरेक किसानले खेतीका लागि गोरु पाल्ने चलन थियो । रोपाइँ, मकै, गहुँ तथा अन्य बाली लगाउन खेत जोत्न गोरु अनिवार्य मानिन्थ्यो । तर पछिल्ला वर्षमा कृषि मजदुरको अभाव, समयको बचत र कृषि उपकरणबाट छिटो काम हुने भएकाले किसान यान्त्रिक उपकरणतर्फ आकर्षित भएका सारुको बुझाइ छ ।

विशेषगरी अन्नको भण्डारका रूपमा लिइने तानसेनको माडीफाँट, अर्गेली, रम्भा गाउँपालिकाको हुँगी, हेक्लाङ, रामपुरको रामपुर फाँट, पूर्वखोलाका केही फाँट, निस्दी गाउँपालिकाको ढुँनावेसी, तिनाउ गाउँपालिकाको कचल, झ्याङ्ला, रिब्दीकोट र रैनादेवी छहराका तल्ला फाँटहरुमा एक दशकअघिसम्म गोरुले जोतेर धान रोप्ने प्रचलन थियो ।

अहिले यी ठाउँमा ट्याक्टरले जोतेर धान रोपाइँ हुने गरेको छ । गाउँमा गोरु पाल्ने किसानको सङ्ख्या घट्दै जाँदा हलो, जुवा, फालीलगायत परम्परागत कृषि सामग्री पनि प्रयोगविहीन बन्दै गएका छन् । यसले ग्रामीण जीवनसँग जोडिएका पुराना कृषि संस्कार र सीपसमेत लोप हुने अवस्थामा पुगेको छ ।

यान्त्रिकीकरणले उत्पादन लागत र समय घटाउन सहयोग गरे पनि परम्परागत कृषि ज्ञान तथा जैविकखेतीसँग जोडिएका अभ्यासको संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको कृषि केन्द्र पाल्पाका कृषि अर्थविज्ञ मातिवर यावदले बताउनुभयो । केही वर्षयता गाउँका कृषकहरूले आधुनिक हलो प्रयोग गर्न थालेका भन्दै गोरुमार्फत जोत्ने कृषकलाई पनि ज्ञान केन्द्रले प्रेरित गर्दै आएको उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाका ९९ नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ भोलि, पहिलो बैठक पनि बस्ने
२०८३ असार १६, मंगलबार
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
२०८३ असार १६, मंगलबार
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
२०८३ असार १६, मंगलबार
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
२०८३ असार १६, मंगलबार
एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन
२०८३ असार १६, मंगलबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १६, मंगलबार
राष्ट्र बैंकद्धारा आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण
२०८३ असार १६, मंगलबार