काठमाण्डाैंः सिन्धुपाल्चोकका धनजित तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंंले ०६० मा डलर ठगी आरोपमा पक्राउ गरेको थियो । सस्तोमा डलर साट्ने बहानामा ठगी गरेका उनी एक वर्ष जेल बसेर छुटे । त्यसपछि उनी सुध्रिएको प्रहरीको आकलन त्यतिवेला गलत सावित भयो, जब उनले गिरोह नै बनाएर ठगी गर्दै आएको खुल्यो । गत साता भक्तपुरमा पक्राउ परेका उनले २५ जनाभन्दा बढीलाई ठगिसकेको खुलेको छ । भक्तपुर प्रहरीले ११ जना सहयोगीसहितका उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार अहिले १२ जना पक्राउ परे पनि तामाङको गिरोहमा २० जनाभन्दा बढी संलग्न देखिएका छन् । प्रहरीले बाह्रबिसेकै खेलबहादुर तामाङ, रेलबहादुर तामाङ, विमल भण्डारी, निर्मल भण्डारी, राजकुमार तामाङ, धनबहादुर भण्डारी, कमल भण्डारी, राकेश भण्डारी, सन्चबहादुर योञ्जनलाई पनि पक्राउ गरेको छ । उनीहरू सबै एउटै गाउँका हुन् । तीमध्ये खेलबहादुर र रेलबहादुर तथा विमल र निर्मल दाजुभाइ भएको भक्तपुर परिसरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
उनीहरूले प्रयोग गर्ने पाँचवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । ठगीबाटै उनीहरूले लाखौँ सम्पत्ति आर्जन गरेको देखिएकाले त्यसको पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले श्रीमतीको नाममा सम्पत्ति जोडेको पाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
गिरोहले १३ असोजमा घरजग्गा कारोबारी रमेश रसाइलीसँग पाँच लाख र त्यसको केही दिनपछि मोबाइल पसले कमल खड्कासँग चार लाख रुपैयाँ ठगी गरे । गिरोहका केही सदस्य ९ असोजमै पक्राउ परिसकेका थिए । त्यसपछि क्रमशः प्रहरीले धनजितसहितका १२ जनालाई पक्राउ गरेको हो । नयाँपत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया