श्रावण ६, २०८३ बुधबार July 22, 2026

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

पछिल्लो आवमा राजस्व असुली उल्लेखनीय रूपमा बढे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), ६ साउनः पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१/८२ को तुलनामा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो । यससँगै कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको देखिएको छ ।

यद्यपि, राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन । आव २०८२/८३ का लागि कार्यालयलाई रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत हासिल गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।

यसअघि आव २०८१/८२ मा मेची भन्सार कार्यालयले रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गरेको थियो । त्यसको तुलनामा पछिल्लो आवमा राजस्व असुली उल्लेखनीय रूपमा बढेको हो ।

मेची भन्सार कार्यालय पूर्वी नेपालको प्रमुख आयात–निर्यात नाकामध्ये एक हो । यस नाका हुँदै पूर्वी नेपालमा उत्पादित चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन् । त्यसैगरी पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया