काठमाडौं । केही सुधारको संकेत देखाएको नेपाली सेयर बजार फेरि निरन्तर ओरालो लाग्न थालेको छ । बजारमा सकारात्मक वातावरण बन्ने अपेक्षा गरिएका राजनीतिक तथा नीतिगत गतिविधिले छोटो समयका लागि उत्साह सिर्जना गरे पनि त्यसले दिगो प्रभाव पार्न नसक्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि घटेको छ । सूचकसँगै कारोबार रकमसमेत खुम्चिनुले लगानीकर्ताको आत्मविश्वास अझै पूर्णरूपमा फर्किन नसकेको संकेत गरेको छ । बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ अंकमा झरेको छ । त्यसो त साताको सुरुदेखि नै बजार निरन्तर ओरालो लागिरहेको छ । गत शुक्रबार २७ सय ३४ अंकमा रहेको नेप्से चार कारोबार दिनमै करिब ६२ अंकले घटेको हो । जसले बजारमा देखिएको अस्थिरता अझै कायम रहेको स्पष्ट संकेत दिएको छ ।
अघिल्लो कारोबार दिन चार अर्ब दुई करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार घटेर तीन अर्ब ३८ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । दिनभर ४४ हजार ६५१ वटा कारोबारमार्फत ३३७ कम्पनीका ७५ लाख ४८ हजार कित्ता सेयर खरिद-बिक्री भएका थिए । कारोबार भएका कम्पनीमध्ये केवल ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ । बढ्ने कम्पनीको संख्या अत्यन्त न्यून हुनु र अधिकांश कम्पनीको मूल्यमा गिरावट आउनुले बजारमा बिक्रीको दबाब अझै उच्च रहेको देखाएको छ ।
सबैजसो क्षेत्र दबाबमा
बिहीबार कारोबार भएका सबै समूहगत परिसूचक राताम्मे भएका छन् । विशेषगरी विकास बैंक र जलविद्युत् समूहमा उल्लेख्य गिरावट देखिएको छ । बैंकिङ समूह ०.३३, विकास बैंक १.१२, फाइनान्स ०.१३, होटल तथा पर्यटन ०.२१, जलविद्युत् १.२०, लगानी ०.५५, जीवन बीमा ०.४२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.१९, अन्य समूह ०.६९ र व्यापार समूह ०.४२ प्रतिशतले घटेका छन् । विशेषगरी विकास बैंक र जलविद्युत् क्षेत्रमा एक प्रतिशतभन्दा बढीको गिरावट आउनुले पछिल्लो समय उल्लेखित क्षेत्रमा देखिएको बिक्री दबाब अझै कायम रहेको देखिएको हो ।
अधिकांश कम्पनीमा निराशा
समग्र बजार ओरालो लागेको छ । तथापि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य प्रतिफल पाएका छन् । नयाँ सूचीकृत एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार १३८ रुपैयाँ पुगेको छ भने सेन्ट्रल फाइनान्सको सेयर मूल्य २.८८, शुभम् पावरको २.१५ तथा तारागाउँ रिजेन्सी होटलको २.०१ प्रतिशतले बढेको छ । उता, कालीञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा ठूलो घाटा बेहोरेका छन् । उक्त कम्पनीको सेयर मूल्य १५ प्रतिशतले घटेको छ ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १२.६८, सोलु हाइड्रोपावरको ३.८२ तथा रिजलाइन इनर्जीको ३.४७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ३८ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३३ लाख र रिडी पावर कम्पनीको १० करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् तथा सेन्ट्रल फाइनान्समा पनि उल्लेख्य कारोबार भएको छ ।
राजनीतिक भेटघाटले क्षणिक उत्साह
केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग सेयर बजारका लगानीकर्ताको भेटवार्तापछि बजारमा सकारात्मक सञ्चार भएको थियो । त्यसपछि केही कारोबार दिन नेप्सेमा सुधार देखियो पनि तर त्यो उत्साह टिक्न सकेन । बजार फेरि निरन्तर ओरालो लाग्न थालेपछि केवल मनोवैज्ञानिक प्रभावले मात्रै बजारलाई दीर्घकालीन रूपमा उकास्न नसक्ने सन्देश दिएको विश्लेषण हुन थालेको छ ।
यता, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि पछिल्लो समय पुँजीबजारप्रति सकारात्मक अभिव्यक्ति दिँदै आउनुभएको छ । उहाँले विभिन्न सार्वजनिक कार्यक्रममा सरकार बजार सुधारप्रति प्रतिबद्ध रहेको, लगानीकर्ताको विश्वास बढाउने नीतिगत व्यवस्था गरिने तथा पुँजी बजारलाई अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा विकास गरिने बताउनुभएको छ ।
तर, सरकारी प्रतिबद्धता र सकारात्मक अभिव्यक्तिले मात्रै बजारमा स्थायी सुधार आउन नसकेको देखिएको छ । लगानीकर्ताले नीतिगत स्पष्टता, कार्यान्वयनको सुनिश्चितता, बैंकिङ प्रणालीमा पर्याप्त तरलता तथा निजी क्षेत्रको लगानी वातावरणमा वास्तविक सुधारको अपेक्षा गरिरहेका छन् । तर, ठोस परिवर्तन नदेखिँदा बजारले सकारात्मक प्रतिक्रिया दिन नसकेको विश्लेषकहरूको भनाइ छ ।
‘पर्ख र हेर’ को रणनीतिमा दीर्घकालीन लगानीकर्ता
पछिल्ला केही सातादेखि बजारले स्पष्ट दिशा लिन नसक्दा दीर्घकालीन लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा बसेका छन् । बजारमा सीमित ट्रेडरको सक्रियताले दैनिक कारोबार चलायमान बनाइरहेको भए पनि संस्थागत तथा ठूला लगानीकर्ता नयाँ लगानी विस्तार गर्न अझै हिचकिचाइरहेका छन् । विश्लेषकहरूका अनुसार बजारमा देखिएको निरन्तर उतारचढावले विशेषगरी साना तथा नयाँ लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । उनीहरूको सीमित लगानी क्षमताले बजार बलियो उकालो दिनसक्ने अवस्था छैन । त्यसैले ठूला लगानीकर्ता, संस्थागत कोष तथा नीतिगत सुधारबाट आउने विश्वास पुनः स्थापित नभएसम्म बजारले स्थायी गति लिन कठिन हुने देखिएको छ ।
साताको सुरुदेखि देखिएको लगातार गिरावटले आगामी कारोबार दिनमा पनि बजारमा मनोवैज्ञानिक दबाब कायम रहने अनुमान गरिएको छ । यद्यपि, विश्लेषकहरूले बजारको दीर्घकालीन सम्भावना अझै सकारात्मक रहेको बताउँदै लगानीकर्ताले अफवाहभन्दा कम्पनीको आधारभूत अवस्था, वित्तीय सूचक र दीर्घकालीन रणनीतिलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया