काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाल सरकारलाई उपलब्ध गराएको हो।
२०८३ भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा आएको अचानकको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दाको ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। विपद्का कारण प्रभावित परिवारको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले आर्थिक सहयोग गरेको जनाएको छ।
भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बैंकका अध्यक्ष किशोर जङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थियो।
बैंकले बाढी तथा विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गरेको छ। साथै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया