भाद्र १८, २०८३ बिहिबार September 3, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै

कांग्रेस बनेपा नगरद्वारा दुई लाख २३ हजार ३६४ रुपैयाँ राहत कोषमा जम्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १८ भदौः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नक्रम बढ्दै गएको छ । भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनःस्थापनाका लागि रकम दाखिला गरिएको हो । काठमाडौँस्थित ठमेलमा सञ्चालन भएको रमादा होटलले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।
उक्त होटेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको होटेलका अध्यक्ष जगन्नाथ ज्ञवालीले जानकारी दिनुभयो । वालिङ (स्याङ्जा) स्याङ्जाको पुतलीबजार नगरपालिकाले रु २७ लाख ३९ हजार ८५८ सहयोग उपलब्ध गराएको छ ।
नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलबबाट रकम सङ्कलन गरिएको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिनुभयो । वीरगञ्जः मारवाडी ट्रष्ट र चाचन समूह, वीरगञ्जले ५२ लाख ११ हजार रुपैयाँ सङ्कलन गरी राहत कोषमा जम्मा गरिएको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले जानकारी दिनुभयो ।
बुटवलः गौतमबुद्ध सामुदायिक अस्पतालले रु ११ लाख ११ हजार १११ सहयोग उपलब्ध गराएको छ । बुटवलको उक्त अस्पतालले चिकित्सक तथा अन्य कर्मचारीका तर्फबाट रकम दाखिला गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो ।
बाजुराः बूढीगङ्गा नगरपालिकाले २२ लाख ९२ हजार ३३२ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम नगरपालिकाका जनप्रतिनिध, कर्मचारी, शिक्षकको मासिक तलवबाट सङ्कलन गरिएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिनुभयो ।
मकवानपुरः भीमफेदी नगरपालिकाले पाँच लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको छ । उक्त रकम पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलवबाट सङ्कलन गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।
बनेपाः नेपाली कांग्रेस बनेपा नगरद्वारा दुई लाख २३ हजार ३६४ रुपैयाँ राहत कोषमा जम्मा गरिएको छ । उक्त रकम पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट सङ्कलन गरिएको नेपाली कांग्रेस बनेपा नगर समितिका सभापति महेशकुमार कर्माचार्यले बताउनुभयो ।
लमजुङः बेँसीसहर नगरपालिका, लमजुङले पाँच लाख रुपैयाँ राहत कोषमा दाखिला गरेको छ । उक्त रकम नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलवबाट सङ्कलन गरिएको नगरपालिकाका नगरप्रमख गुमानसिंह अर्यालले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोकः जिल्लाका नौ पालिकाले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एक करोड ७७ लाख रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।
भुम्लु गाउँपालिकाले रु ३० लाख, नमोबुद्ध नगरपालिकाले रु २७ लाख ५० हजार, बनेपा नगरले रु १५ लाख, पनौती नगरले रु ३० लाख, पाँचखाल, धुलिखेल,  रोशी र चौँरीदेउराली पालिकाले रु १०÷१० लाख गरी जम्मा एक करोड ७७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो ।
त्यसैगरी, काभ्रेजिल्ला धुलिखेल नगरपालिका–११, निवासी रवि धितालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ दाखिला गर्नुभएको स्थानीय समाचारदाता राजकुमार पराजुलीले जानकारी दिनुभएको छ ।
सिरहाः लहान नगरपालिकाले रु ११ लाख राहत सहयोग रकमा दाखिला गरेको छ ।
उक्त रकम पालिकाका जनप्रतिनिध, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको मासिक तलवबाट सङ्कलन गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया