भाद्र २३, २०८३ मंगलबार September 8, 2026

भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी

अकल्पनीय पीडा र शोकको घडीमा स्थानीय वडावासी भने रोकाय परिवारको घाउमा मलम लगाउन अघि सरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके), २३ भदौः एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठूलो पीडा के होला ? यस्तै पर्नु पीर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई ।

भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा पर्नुभएका रोकायालाई वडावासीले साथ सहयोग प्रदान गरेका छन् । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्ने दाजु ५३ वर्षीय शेरसिंह रोकाय र भाउजु ५६ वर्षीया विष्णुमतिलाई भेट्न र तीर्थस्थल गोसाइँकुण्ड घुम्न गएका १९ वर्षीय छोरा दीपक रोकाय बेपत्ता हुँदा अनलाल यतिबेला असैह्य पीडामा हुनुहुन्छ ।

बुढेसकालको सहारा एक्लो छोरा, अभिभावकका रुपमा रहनुभएका दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि थपुवास्थित रोकाय निवासमा अहिले सन्नाटा र आँसु मात्र छचल्किरहेको छ । ढोकातिर हेर्दै ‘कतै फर्किहाल्छन् कि’ भन्ने आशा र मनभित्रको गहिरो निराशाबीच अनलालको परिवार वियोगको भारी थाम्न विवश छ ।

अकल्पनीय पीडा र शोकको घडीमा स्थानीय वडावासी भने रोकाय परिवारको घाउमा मलम लगाउन अघि सरेका छन् । स्थानीयवासीको सक्रियतामा सङ्कलन गरिएको नगद राहत बोकेर नेपालगन्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढासहितको टोली सोमबार अनलालको निवासमै पुगेको थियो ।

“अकल्पनीय पीडाको अगाडि यो रकम धेरै सानो हो”, कार्यवाहक वडाध्यक्ष बुढाले भावुक हुँदै अनलाललाई सम्झाउनुभयो, “यो रकम मात्र होइन, सिङ्गो वडावासी तपाईंको साथमा छ । आगामी दिनमा बेपत्ताको खोजी र परिवारलाई चाहिने हरेक सहयोगमा हामी निरन्तर साथमै रहनेछौँ ।” आफ्नो सिङ्गो परिवार नै बेपत्ता भएपछि शोकमा डुब्नुभएका अनलालका लागि गाउँलेको यो साथले थोरै भए पनि सहारा दिएको छ । “सहयोग सानो वा ठूलो भन्ने हुँदैन, दुःखको यो क्षणमा वडावासीले खोजी कार्यदेखि आर्थिक सहयोग गरेर हाम्रो पीडामा मलम लगाउने काम गर्नुभएको छ”, गहभरि आँसु पार्दै अनलालले वडावासीप्रति आभार प्रकट गर्नुभयो ।

आफ्ना मान्छे जीवितै फर्किने आशा मर्दै जाँदा, अन्तिम संस्कारका लागि भए पनि शव पहिचान होस् भन्ने पर्खाइमा रोकाय परिवार रहेको छ । “बाढीपछि फेला परेका शवसँग मिलान गर्न डिएनए परीक्षणका लागि नमुना पठाइएको छ”, अनलालले आशा र निराशा व्यक्त गर्दै भन्नुभयो, “कम्तीमा डिएनए रिपोर्ट मिलेपछि त दाजु, भाउजु र छोराको अवस्था आधिकारिक रूपमा थाहा हुन्थ्यो ।”

भोटेकोशीको त्यो विनाशकारी बाढीले बाँके जिल्लाका मात्रै २३ जनालाई बेपत्ता बनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, हालसम्म ३२ जनाको सकुशल उद्धार गरिएको छ । यस्तै, तीन जनाको सनाखत भएको छ । बाँकी बेपत्ताका परिवारका लागि भने हरेक दिन सम्झना, पीडा र कहिल्यै नसकिने पर्खाइ बनेर बितिरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
२०८३ भाद्र २३, मंगलबार
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
२०८३ भाद्र २३, मंगलबार
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति
२०८३ भाद्र २३, मंगलबार
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म
२०८३ भाद्र २३, मंगलबार
भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी
२०८३ भाद्र २३, मंगलबार
आजको मौसम : अधिकांश भूभागमा वर्षाको सम्भावना
२०८३ भाद्र २३, मंगलबार
प्रधानमन्त्री बालेनलाई प्रमाणसहित प्रस्तुत हुन विज्ञको सुझाव
२०८३ भाद्र २३, मंगलबार