भाद्र २३, २०८३ मंगलबार September 8, 2026

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

पर्यटन पूर्वाधार र प्रचारप्रसारको कमीका कारण पनि विदेशी पर्यटकको आगमन कम भएको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी।अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको आगमन भने न्यून रहेको छ ।

आर्थिक वर्ष २०७५÷७६ देखि २०८२÷८३ सम्म कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक पुगेका छन् । तीमध्ये विदेशी पर्यटकको सङ्ख्या दुई हजार २९ मात्र रहेको छ ।

आव २०८२÷८३ मा १२ हजार ८८३ पर्यटक आरक्ष पुगेकामा विदेशी पर्यटक ३०५ जना थिए । आव २०८१÷८२ मा ११ हजार ६०६ पर्यटकमध्ये ३०२ जना विदेशी र २०८०÷८१ मा १२ हजार ५५६ पर्यटकमध्ये ३२७ जना विदेशी पर्यटक आएका थिए ।

त्यसैगरी, आव २०७९÷८० मा १२ हजार ४७९ पर्यटकमध्ये ३११ जना, २०७८÷७९ मा ११ हजार १६७ मध्ये १३० जना, २०७७÷७८ मा नौ हजार ८१८ मध्ये ७७ जना, २०७६÷७७ मा ११ हजार १४ मध्ये १८९ जना र २०७५÷७६ मा आठ हजार ७६३ पर्यटकमध्ये ३८८ जना विदेशी पर्यटक रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी मिथलेस महतोले बताउनुभयो ।

अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षको तुलनामा यहाँ विदेशी पर्यटकको आगमन कम रहेको छ । पर्यटन पूर्वाधार र प्रचारप्रसारको कमीका कारण पनि विदेशी पर्यटकको आगमन कम भएको हुनसक्ने सूचना अधिकारी महतोको भनाइ छ ।

कोशी टप्पुलाई वन्यजन्तु अवलोकन, बर्ड वाचिङ र सिमसार पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि त्यसअनुसारका पूर्वाधार बन्न नसकेको उहाँले बताउनुभयो । देशका अन्य निकुञ्ज र आरक्षको तुलनामा निकै कम विदेशी पर्यटक कोशी टप्पुमा आउने गरेका छन् । मुख्यतः प्रचारप्रसारकै अभाव रहेको उहाँको कथन छ ।

कोशी टप्पुको मुख्य पर्यटन आकर्षण अर्ना भए पनि यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, सिमसार, नदी र घाँसेमैदान छन् । त्यसैले अर्ना अवलोकनसँगै बर्ड वाचिङ, प्रकृति पदयात्रा, नदी पर्यटन र जङ्गल सफारीलाई व्यवस्थित गर्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिने पर्यटन व्यवसायी रमन भट्टराईले बताउनुभयो ।

“सुनसरी र उदयपुरका बीचमा रहेको बेलका बीच रिसोर्टबाट जङ्गल सफारी सुरु गरेको छु । आरक्षभित्र जाने सडकको पूर्वाधार छैन”, उहाँले भन्नुभयो । आरक्ष क्षेत्रमा व्यवस्थित पदयात्रा तथा बर्ड वाचिङ मार्ग, पर्यटक सूचना केन्द्र तथा होमस्टे सञ्चालन गर्नसके पर्यटकको आगमन बढ्नसक्ने उहाँको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । विसं २०४४ देखि रामसार सूचीमा सूचीकृत आरक्ष जैविक विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्र हो ।

सन् १९७६ को गणनामा कोशी टप्पुमा ६३ वटा अर्ना रहेका थिए भने सन् २०२१ को गणना अनुसार सङ्ख्या बढेर ४९८ पुगेको छ । कोशी टप्पुमा ४२ प्रजातिका स्तनधारी, ५३५ प्रजातिका पक्षी, १४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन् ।

यस्तै, ३२ वटा खरमयुर र १९ वटा डल्फिन रहेका छन् ।साथै यहाँ हिउँदमा विभिन्न विदेशी चरासमेत आउने गर्दछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोगको एक करोड एक लाख रुपैयाँ सहयोग
२०८३ भाद्र २३, मंगलबार
सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि
२०८३ भाद्र २३, मंगलबार
राप्ती लोकमार्गको सल्यान-दाङ सडकखण्ड १३ घण्टापछि सुचारु
२०८३ भाद्र २३, मंगलबार
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की
२०८३ भाद्र २३, मंगलबार
President Paudel Offers Special Prayers at Pashupatinath for the Welfare of the Nation and People
२०८३ भाद्र २३, मंगलबार
नवलपरासीको सुस्तामा भन्सार छलेर भारत लैजान लागिएका ८सय १ थान शालग्राम बरामद
२०८३ भाद्र २३, मंगलबार
शहीदहरूको सपना र उपलब्धि जोगाउन नयाँ सङ्कल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड
२०८३ भाद्र २३, मंगलबार