काठमाडौँ । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सिइओ) नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
कार्यकारी प्रमुख छनोट उपसमितिले जारी गरेको सूचना अनुसार सूचना प्रकाशित भएको मितिले १० दिनभित्र इच्छुक उम्मेदवारले आवेदन दिनुपर्नेछ।
सिइओ पदका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ। प्रचलित कानुनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ।
आवेदनसँग उम्मेदवारले आफ्नो व्यक्तिगत विवरणसहित आवश्यक प्रमाणपत्र पेस गर्नुपर्नेछ। साथै नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि गर्नुपर्ने क्रियाकलाप समेटिएको बढीमा तीन हजार शब्दको रणनीतिक कार्ययोजना पनि बुझाउनुपर्नेछ।
उम्मेदवारले आफूले काम गरेको संस्था वा संगठनमा हासिल गरेका उल्लेख्य उपलब्धिसहितको बढीमा एक हजार शब्दको प्रतिवेदनसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
सार्वजनिक संस्थामा विभागीय जिम्मेवारीमा रहेका उम्मेदवारले विभागीय स्वीकृति प्राप्त गरेको पत्र पनि संलग्न गर्नुपर्नेछ।
दरखास्त दस्तुरबापत १५ हजार रुपैयाँ नेपाल पर्यटन बोर्डको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरी भौचर आवेदनसँग पेस गर्नुपर्नेछ।
उम्मेदवारले आवेदन तथा आवश्यक कागजातहरू बोर्डको सचिवालय, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बुझाउन सक्नेछन्। इमेलमार्फत पनि आवश्यक कागजात संलग्न गरी आवेदन पठाउन सकिने बोर्डले जनाएको छ।
सिइओ छनोट तथा नियुक्तिसम्बन्धी थप जानकारी नेपाल पर्यटन बोर्डको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया