कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

शुक्रबारमात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुस्ताङ, २८ भदौः नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ ।

रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभयो । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालको भनाइ छ ।

प्रमुख चुडालका अनुसार शुक्रबारमात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन् । रसुवागढीनाका बन्द भएको भदौ १० गतेपछि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उहाँले बताउनुभयो ।

चालु आव २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिँदा रु दुई अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताउनुभयो । भदौ ९ गतेसम्म १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए ।

विसं २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागिमात्रै बाह्रै महिना खुला गरिएको कोरलानाका गत वर्ष तातोपानी र रसुवागढीनाका बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो । भन्सार प्रमुख चुडालका अनुसार गत आव २०८२/८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोडको राजस्व सङ्कलन गरेको थियो ।

त्यस वर्ष पैठारीतर्फ रु १४ अर्ब ४१ करोड र निकासीतर्फ रु २० करोड ५० लाखबराबरको मालवस्तुको कारोबार भएको थियो । गत वर्ष कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारी र एक हजार ८७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार
दशौँ राष्ट्रिय खेलकुद : सुर्खेतमा २३, अन्य जिल्लामा ९ खेल
२०८३ कार्तिक २४, मंगलबार