भाद्र २९, २०८३ सोमबार September 14, 2026

मुस्ताङ भन्सारमा १५ दिनमा उठ्यो एक अर्ब ७८ करोड राजस्व

शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुस्ताङः नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको छ।

रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ) नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ।

भन्सार प्रमुख बिदुर चुडालका अनुसार, रसुवागढी–केरुङ नाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गरे।

शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन २७ करोड ११ लाख राजस्व संकलन गरेको छ। भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाइ छ।

चुडालका अनुसार, शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढी नाका बन्द भएको भदौ १० गतेपछि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उनले बताए।

चालु आव २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिँदा दुई अर्ब ३१ करोड ४४ लाख राजस्व संकलन भएको भन्सार प्रमुख चुडालले बताए। भदौ ९ गतेसम्म १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए।

वि.सं. २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै बाह्रै महिना खुला गरिएको कोरला नाका गत वर्ष तातोपानी र रसुवागढी नाका बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि कोरला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो।

भन्सार प्रमुख चुडालका अनुसार, गत आव २०८२/८३ मा उत्तरी कोरला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोडको राजस्व संकलन गरेको थियो।

त्यस वर्ष पैठारीतर्फ १४ अर्ब ४१ करोड र निकासीतर्फ २० करोड ५० लाख बराबरको मालवस्तुको कारोबार भएको थियो। गत वर्ष कोरला नाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारी र एक हजार ८७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया