राँझा (बाँके)। नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ ।
भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको नेपालगन्जस्थित रानी तलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार, जेठदेखि मङ्सिरसम्मको अवधिमा स्थानीय बजारमा खपत हुने कुल तरकारीमध्ये करिब ८० प्रतिशत तरकारी सल्यान, रुकुम, रोल्पा र दाङलगायतका छिमेकी पहाडी तथा भित्री मधेसका जिल्लामा उत्पादन भएको हुन्छ । बाँकी २० प्रतिशत मात्र भारतीय तथा अन्य क्षेत्रबाट आउने तरकारीले बजारको माग धान्ने गर्छ ।
हरेक बिहान सबेरै सल्यान, रुकुम, रोल्पा र दाङबाट दर्जनभन्दा बढी मालवाहक गाडी ताजा तरकारी बोकेर रानी तलाउ आइपुग्ने अध्यक्ष मोतिसराले बताउनुभयो । पहाडी जिल्लाबाट दैनिकजसो गोलभेडा, बन्दा, काउली, भान्टा, सिमी, खुर्सानी, लौका, करेला, बोडी र काँक्रो आउने गरको उहाँले जानकारी दिनुभयो ।
सीमा नाकामा अवैध रूपमा भित्रिने तरकारीमा कडाइ गरिएपछि स्वदेशी उत्पादनको माग र खपत ह्वात्तै बढेको छ । गत वर्षको तुलनामा यस वर्ष पहाडी जिल्लाबाट आउने तरकारीको परिमाणमा उल्लेख्य वृद्धि भएको अध्यक्ष मोतिसराको भनाइ छ ।
“सीमामा निगरानी कडा हुँदा अवैध आयात नियन्त्रणमा आएको र त्यसको प्रत्यक्ष लाभ नेपाली किसानले पाएका छन्”, उहाँले भन्नुभयो, “स्वदेशमै उत्पादन भएको ताजा तरकारीले सहजै बजार पाउन थालेपछि किसानले आफ्नो पसिना र उत्पादनको उचित मूल्य पाउन थालेका छन् ।”
रानी तलाउ बजार नेपालगन्जका लागि मात्र नभई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उपभोक्ताका लागि प्रमुख तरकारी थोकबजारका रूपमा परिचित छ । यहाँ दैनिक ठूलो परिमाणमा तरकारीको कारोबार हुने गर्दछ । यहाँ सङ्कलन भएको तरकारी विभिन्न खुद्रा बजारका साथै आसपासका अन्य जिल्लामा आपूर्ति हुने भएकाले यो बजार सिङ्गो क्षेत्रीय कृषि अर्थतन्त्रको महत्वपूर्ण केन्द्र बन्दै गएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बताउनुभयो ।
स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणलाई निरन्तर प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।
अवैध आयात रोकिँदा एकातिर नेपाली किसानलाई उत्पादन बढाउन थप हौसला मिलेको छ भने अर्कोतिर देशको समग्र कृषि अर्थतन्त्रलाई मजबुत र आत्मनिर्भर बनाउन ठूलो सहयोग पुगेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया