असोज ३१, २०८३ शनिबार October 17, 2026

दसैँ घरमा भित्र्याइयो फूलपाती

शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताउनुभयो ।

हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो फूलपाती

यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिनुभयो ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, नेपालीको सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको हो । यसवर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाँले बताउनुभयो ।

हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूल चोकमा बलिसहित पूजा गरेपछि दसैँ घरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने कहिले संस्कृतिमन्त्री त कहिले सचिव उपस्थित हुने गरेकामा यसवर्ष मन्त्री र सचिव उपत्यका बाहिर रहनुभएकाले मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानागङलगायत अधिकारीहरुको सहभागिता रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

हनुमानढोकामा भित्र्याउन आज बिहानको साइतमा गोरखाबाट फूलपाती काठमाडौँ ल्याइएको थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखाबाट फूलपाती ल्याई भित्र्याउने गरिएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेको छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कनेक्रम अझ तीव्र भएको छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्यसामग्री र कपडा, जुत्ता, चप्पलका पसलमा मानिसको भीड छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया