कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन एक महिनादेखि बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, १० कात्तिकः म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो ।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल प्रतिसेकेन्ड आठ लिटरका दरले मात्र पानी आपूर्ति भइरहेको छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसंख्यालाई खानेपानी वितरण हुँदै आएको छ ।

बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने डाँडाखर्क र रिठाखर्कका मुहानबाट बेनीमा पानी ल्याउने १४ किलोमिटर लामो पाइपलाइन क्षतिग्रस्त भएको छ । बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्न थालिएको छ ।

“कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुपारेबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिरहेका छौँ । तर, सुक्खायाम सुरु भएसँगै वैकल्पिक मुहान सुक्न थालेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गराउने तयारीमा जुटेका छौँ,” अध्यक्ष गिरीले भन्नुभयो, “राहुपारेसम्म पानी सञ्चालन भइरहेको पाइपलाइनको राहुपारे–गलेश्वर खण्ड पुनर्निर्माण गर्ने र बेनी बजार क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्ने काम भइरहेको छ ।”

प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन एक महिनादेखि बन्द छ । मागअनुसार पानी आपूर्ति हुन नसकेपछि बेनीको रेडक्रस मार्गका बासिन्दाले निजी मुहानबाट पानी ल्याएर उपभोग गर्न थालेका छन् ।

स्थानीयवासी दिनेश जिसीले आलोपालो प्रणालीबाट वितरण गरिएको पानीले नपुगेपछि निजी मुहानबाट पानी ल्याउनुपरेको बताउनुभयो । खानेपानीको अभावले बजारवासीका साथै विद्यार्थी, पेसाकर्मी र व्यवसायीसमेत प्रभावित भएका छन् । यसअघि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ, बौद्ध युवा क्लबलगायतका सङ्घसंस्थाले ट्याङ्कर र ड्रममा पानी बोकेर बजारमा वितरण गरेका थिए । अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट बेनीमा पानी ल्याउने तयारी गरिएको अध्यक्ष गिरीले बताउनुभयो । अल्पकालीन विकल्पका रूपमा रिठाखर्क मुहानको पानी आपूर्ति गर्ने तथा मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा लिफ्ट प्रविधिबाट पानी तानेर वितरण गर्ने वैकल्पिक स्रोत सञ्चालनका लागि पनि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष गिरीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारिएको छ ।

गत साता बेनी आउनुभएका नेपाल सरकारका पूर्वाधारमन्त्री सुनिल लम्सालसमक्ष संस्थाका पदाधिकारीले खानेपानी आयोजना पुनर्निर्माण तथा सुधारका लागि बजेट व्यवस्था गर्न प्रस्ताव पेस गरेका थिए । मन्त्री लम्सालले तत्काल बजेट व्यवस्था गरी ठेक्कामार्फत बेनी खानेपानी योजनाको पुनर्निर्माण गरिने प्रतिबद्धता जनाउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
२०८३ कार्तिक १०, मंगलबार
भोटेकोशी बाढी: डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दशैं
२०८३ कार्तिक १०, मंगलबार
आजको मुद्रा : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ, युरो १७० रुपैयाँ नाघ्यो
२०८३ कार्तिक १०, मंगलबार
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज चितवन राइनोज र विराटनगर किङ्ग्स भिड्दै
२०८३ कार्तिक १०, मंगलबार
सातै प्रदेशमा मौसम बदलीको सम्भावना, केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने
२०८३ कार्तिक १०, मंगलबार