रौतहट, १३ कात्तिक। रौतहटको फतुवा विजयपुर नगरपालिकाको स्थानीय राजनीतिमा नयाँ समीकरण देखिएको छ।
नेपाली कांग्रेसबाट दुई पटक नगर प्रमुख बनेका निलम्बित मेयर गोपाल राय यादव दर्जनौँ नेता तथा कार्यकर्तासहित जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। उनको यो राजनीतिक कदमलाई आगामी स्थानीय तह निर्वाचनलाई लक्षित रणनीतिका रूपमा हेरिएको छ।
बिहीबार गुजरा नगरपालिकाको सिम्रा भवानीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवसहित उनका छोरा आदित्य यादव पनि जसपामा प्रवेश गरेका हुन्। आगामी निर्वाचनमा नगर प्रमुखको उम्मेदवारका रूपमा अघि सारिएका आदित्यलाई राजनीतिक उत्तराधिकारीका रूपमा स्थापित गर्ने प्रयाससमेत यस घटनासँग जोडिएको छ।
यादव परिवारसँगै पूर्व वडा अध्यक्ष हिरालाल यादव, भविष्ण यादव, वडा अध्यक्षका प्रत्याशी जगदीश यादव र त्रिलोकी यादवसहित सयौँ नेता तथा कार्यकर्ताले कांग्रेस छाडेर जसपाको सदस्यता लिएका छन्।
नवप्रवेशीहरूलाई जसपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द चौधरीले टीका तथा माला लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा मधेस प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादव, गुजरा नगरपालिकाका मेयर सन्तलाल प्रसाद चौधरी, प्रदेश सचिव पुनित राम, प्रदेश सदस्य अनिल यादव, विजय चौधरीलगायत नेताहरूको उपस्थिति थियो।
कांग्रेससँगको सम्बन्धमा चिसोपन, जसपाबाट नयाँ राजनीतिक यात्रा
गोपाल राय यादव २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट फतुवा विजयपुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए। तर भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भई सर्वोच्च अदालतबाट समेत सजायको फैसला सदर भएपछि उनको राजनीतिक यात्रामा चुनौती थपिएको थियो।
अदालतको फैसलापछि यादव र नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति तथा पूर्व अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) बीचको सम्बन्धसमेत चिसिएको बताइन्छ। पारिवारिक रूपमा आफन्त रहे पनि दुवै पक्षबीच बोलचालसमेत बन्द भएको र आदित्य यादवले विभिन्न अवसरमा कांग्रेस नेतृत्वको आलोचना गर्दै आएको राजनीतिक वृत्तमा चर्चा हुँदै आएको थियो।
यही पृष्ठभूमिमा गोपाल यादवले कांग्रेस छाडेर जसपा रोज्नुलाई सामान्य पार्टी प्रवेशभन्दा पनि फतुवा विजयपुरको आगामी चुनावी राजनीतिसँग जोडेर हेरिएको छ। आफू नगर प्रमुखको जिम्मेवारीमा रहँदा भोगेका राजनीतिक उतारचढावपछि गोपाल यादवले अब छोरालाई अगाडि सार्दै नयाँ राजनीतिक आधार तयार गर्न खोजेको देखिन्छ। सञ्जय मिश्रा/न्युज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया