कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी

सुरुका तीनवटा जहाजले राडार तथा नेभिगेसन प्रणाली बन्द गर्नुका साथै आइआरजिसी नौसेनाको चेतावनी बेवास्ता गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, १३ कात्तिक : हर्मुज जलघाँटी पार गर्ने क्रममा समुद्री बारुदी सुरुङमा ठोक्किएपछि चारवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको सशस्त्र सेनाले जनाएको छ । अमेरिकी सेनाले मुख्य पारवहन मार्गबाट बारुदी सुरुङ हटाइसकेको दाबी गरेको एक दिनपछि इरानले यस्तो जानकारी दिएको हो ।

इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोर (आइआरजिसी) का अनुसार पछिल्लो २४ घण्टामा हर्मुज जलघाँटीको अनधिकृत दक्षिणी मार्गबाट पार हुने प्रयास गर्दा तीनवटा ट्याङ्कर विस्फोट भई आगलागी भएको थियो । अर्को ट्याङ्कर पनि प्रतिबन्धित क्षेत्रमा बारुदी सुरुङमा ठोक्किएपछि जलघाँटीको पूर्वी भागमा आगलागी भएको इरानी सेनाले जनाएको छ । सुरुका तीनवटा जहाजले राडार तथा नेभिगेसन प्रणाली बन्द गर्नुका साथै आइआरजिसी नौसेनाको चेतावनी बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, बेलायती सामुद्रिक व्यापार सञ्चालन केन्द्र (युकेएमटिओ) ले ओमानको खसाबबाट करिब २५ समुद्री माइल उत्तरपूर्वमा एउटा ट्याङ्करमा आगलागी भएको जनाएको छ । बन्दरगाहतर्फबाट आएको सानो डुङ्गामा सवार व्यक्तिहरूले जहाजको बाहिरी भागमा दुईवटा विस्फोटक उपकरण जडान गरेपछि इन्जिन कक्षमा आगलागी भएको केन्द्रले जनाएको छ । केही घण्टापछि आगो नियन्त्रणमा आएको र चालक दलका सबै सदस्य सुरक्षित रहेको जानकारी दिइएको थियो ।

इरानले पछिल्ला केही सातादेखि यस क्षेत्रमा जहाजहरू समुद्री बारुदी सुरुङमा ठोक्किएको बताउँदै आएको छ । तर, अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले मुख्य पारवहन मार्गका सबै बारुदी सुरुङ हटाइसकेको दाबी गरेको छ । आइआरजिसीका प्रवक्ता हुसेन मोहेबीले भने सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी पक्षलाई आफ्नो दाबी स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न चुनौती दिनुभएको छ ।

फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानले विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग ओसारपसार हुने हर्मुज जलघाँटीमा जहाज आवागमनमा कडा प्रतिबन्ध लगाउँदै आएको छ । अमेरिकाले जवाफमा इरानी बन्दरगाहमा नाकाबन्दी लगाउनुका साथै ट्याङ्करलाई जलघाँटी पार गर्न सहयोग गर्दै आएको छ । सेन्टकमले यसै गर्मीयामदेखि खाडी मुलुकहरूबाट हर्मुज हुँदै एक अर्ब ५० करोड ब्यारेल तेल निर्यात गर्न सहयोग गरेको दाबी गरेको छ ।

इरानले ओमानको तट नजिकको दक्षिणी मार्गलाई अनधिकृत मान्दै आएको छ । आइआरजिसीले उक्त मार्गमा बारुदी सुरुङ बिछ्याइएको भन्दै जहाजका मालिक तथा चालक दललाई त्यसको जोखिमप्रति सचेत गराएको छ । यसैबीच, आइआरजिसीले आफ्नो नौसेनाको विद्युतीय युद्ध एकाइले हर्मुजको पश्चिमी क्षेत्रमा कारबाहीका क्रममा अमेरिकी एमक्युएम–१७० जासुसी ड्रोन कब्जा गरेको दाबीसमेत गरेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया