कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

अमेरिकाका लागि रुसी राजदूतको निधन

अमेरिकी विदेश मन्त्रालयद्धारा निधन भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, २६ कात्तिक । अमेरिकाका लागि रुसी राजदूत अलेक्जान्डर डार्चिभको ६६ वर्षको उमेरमा निधन भएको छ । रुसको विदेश मन्त्रालयले बुधबार उहाँको निधन भएको घोषणा गरेको हो । उहाँले अमेरिकाका लागि राजदूतका रूपमा करिब डेढ वर्ष काम गर्नुभएको थियो ।

विदेश मन्त्रालयले उहाँलाई उत्कृष्ट कूटनीतिज्ञ, अनुभवी नेता र सहयोगी स्वभावको सहकर्मीका रूपमा स्मरण गरेको छ । डार्चिभलाई सन् २०२५ मार्चमा अमेरिकाका लागि राजदूत नियुक्त गरिएको थियो । मन्त्रालयले उहाँको निधनको कारणबारे भने केही खुलाएको छैन ।

अमेरिकी विदेश मन्त्रालयले पनि बुधबार मस्कोमा उहाँको निधन भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले डार्चिभको परिवार र आफन्तप्रति समवेदना व्यक्त गर्दै निधनसम्बन्धी थप विवरणका लागि रुसी सरकारसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

डार्चिभले यसअघि सन् २०१४ देखि २०२१ सम्म क्यानाडाका लागि रुसी राजदूतका रूपमा काम गर्नुभएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि रुस–अमेरिका सम्बन्धमा आएको परिवर्तन तथा युक्रेनमाथि रुसको आक्रमणका बीच उहाँलाई गत वर्ष अमेरिकाका लागि राजदूत नियुक्त गरिएको थियो ।

रुस–अमेरिका सम्बन्धका जानकार डार्चिभले सन् २०२१ देखि २०२४ सम्म रुसी विदेश मन्त्रालयको उत्तर अमेरिका विभागको निर्देशकका रूपमा पनि काम गर्नुभएको थियो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्दा उहाँले त्यसलाई ‘आवश्यक कदम’ को संज्ञा दिनुभएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया