काठमाण्डौंः अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा पढ्ने विपना खत्री बिहानको ९ बज्यो कि अनलाइन बसिहाल्छिन् । अन्य निजी विद्यालयमा पढ्ने विद्यार्थीको पढाइ अवरुद्ध भए पनि उनको भने लकडाउनमा पनि पढाइ रोकिएन ।
बिहान ९ बज्यो कि जुममा जोडिने उनको कहिल्यै पढाइ रोकिएन । मोबाइलबाट जुममा शिक्षक–शिक्षिकासँग जोडिने विपना भन्छिन्, ‘बिहान ९ बजेबाट नै पढाइ सुरु हुन्छ । सबै साथीभाइ जुममै हुन्छौँ । स्कुल बन्द भएजस्तो लागेको छैन ।’ उनी दिनभरिजसो स्कुलमा झैँ पढाइमै हुन्छिन् ।
बिहान जुममा शिक्षक–शिक्षिकासँग जोडिन्छिन् भने दिउँसो रेडियोमार्फत पढाइ गर्छिन् । ‘रेडियो सुन्छु, नजानेका विषयहरू सर र मिसलाई सोध्ने गरेका छौँ,’ उनले भनिन् । शान्ति माविमा पढ्ने सबै विद्यार्थीको दैनिकी विपनाको जस्तै छ । दिउँसो रेडियोबाट पढाइ गर्छन् । नजानेको विषय बिहान जुम कक्षामा शिक्षक–शिक्षिकालाई सोध्छन् । उनीहरूले पढाइ मात्रै होइन, अनलाइनमार्फत नै आन्तरिक परीक्षा पनि दिएका छन् ।
लकडाउनको समयमा समेत विद्यार्थीको पढाइ अवरुद्ध नभएकोमा अभिभावक पनि दंग छन् । घरमै बसेर पढ्ने वातावरण सिर्जना गरेकोमा खुसी लागेको अभिभावक पदम खत्रीले बताए । ‘कोरोनाले छोरी विद्यालय जान पाएकी थिइन । शिक्षक घरमै आएर अब अनलाइनबाट पढ्नुपर्ने भयो भनेर सिकाएर जानुभयो,’ खत्रीले भने, ‘अहिले त परीक्षासमेत अनलाइनबाट भयो । हामी खुसी छौँ ।’
कोरोना भाइरसको महामारीका कारण आठ महिनादेखि सामुदायिक विद्यालय पूर्ण रूपमा बन्द छन् । नयाँ शैक्षिक सत्रको पढाइ सुरु नहुँदै लकडाउन भएकाले कतिपय विद्यालयका विद्यार्थीले त पुस्तकसमेत पाएका छैनन् । शान्ति मावि भने नमुना विद्यालय बनेको छ ।
अनलाइन माध्यममार्फत नै वैकल्पिक सिकाइको मापन गर्न परीक्षा पनि लिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर पाण्डेले बताए । प्रधानाध्यापक पाण्डेका अनुसार प्रश्नपत्र विद्यार्थीको घरघरमै पठाइएको थियो । अनलाइनमा बसेर लेख्न लगाइएको थियो । अनलाइनबाट नै विद्यार्थीले दिएको परीक्षाको अवलोकन पनि गरेको उनले बताए । ‘हामीले घरलाई नै पाठशाला बनाएर अभिभावकहरूबीच छलफल गरी विद्यार्थीको पठनपाठन अगाडि बढाएका छौँ,’ प्रधानाध्यापक पाण्डेले भने, ‘अभिभावकले रेखदेख गर्ने गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीको पठनपाठन र परीक्षासमेत लिएका छौँ ।’
यसका लागि विद्यालयका सबै शिक्षक–शिक्षिकालाई अनलाइन कक्षा सञ्चालनका लागि तालिम दिइएको थियो । त्यस्तै, नेपाल टेलिकमलाई पत्राचार गरी विद्यार्थीको नाम र नम्बर रजिस्टर गरी ई-शिक्षा प्याकेज लिएर सस्तोमा डाटा लिन पाइने व्यवस्था गरेको विद्यालयका प्राविधिक विभाग प्रमुख जीवन खनालले बताए । ‘हामीले टेलिकमसँग सहकार्य गरेका छौँ । अभिभावकलाई महँगो नपरोस् भनेर तीन सय १५ रुपैयाँमा २४ जिबी डाटा पाइने प्याकेज एक्टिभ गरेका छौँ । जसलाई २८ दिनसम्म प्रयोग गर्न मिल्छ,’ खनालले भने ।
प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकपलाप सञ्चालन गरेर नमुना कामको सुरुआत गरेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘शान्ति माविले प्रविधिको प्रयोग गरी गाउँपालिकाभित्र नमुना काम सम्पन्न गरेको छ । अब अन्य विद्यालयले समेत अनुसरण गरेर अगाडि बढ्नुपर्छ,’ अध्यक्ष आचार्यले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काले नमुना काम गरिएको बताए । यसले अब भर्चुअल सिकाइमा जोड दिन प्रेरणा मिलेको उनको भनाइ छ । ‘मैले संसदीय समितिका बैठक भर्चुअल गर्दछु भनेर प्रयास गरेँ, तर सम्भव भएन,’ खड्काले भने, ‘ग्रामीण क्षेत्रमा निरन्तरण रूपमा भर्चुअल माध्यमबाट पढाइ र अतिरिक्त क्रियाकलाप चलिरहेका छन् । यो सबैको प्रयासबाट सम्भव भएको हो, यसमा गर्व लागेको छ ।’
यो विद्यालयले अतिरिक्त क्रियाकलाप पनि अनलाइनमार्फत नै गर्दै आएको छ । पढाइसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउन थालिएको प्रधानाध्यापक पाण्डेले बताए । अनलाइनबाटै विद्यार्थीले कविता तथा नृत्य प्रतियोगितामा सहभागिता जनाएका छन् । नयाँपत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया