मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग

रकारले पटकपटक दूधको मूल्य वृद्धि गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको सङ्घको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनकुटा, ६ मङ्सिर : धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाले दूध उत्पादन लागत बढेको तर किसानले पाउने मूल्य नबढेको भन्दै मूल्य समायोजन गर्न माग गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नारद कटुवालले हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्र पाउँदै आएको बताउँदै उक्त मूल्य बढाएर कम्तीमा ८० रुपैयाँ पुर्‍याउनुपर्ने माग गर्नुभयो ।

उहाँका अनुसार दाना, चोकरलगायत पशु आहार तथा औषधोपचारको खर्च बढ्दा दूध उत्पादन लागत प्रतिलिटर करिब ६५ रुपैयाँ पुगेको छ । विगत तीन–चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको उहाँले बताउनुभयो ।

बजारमा उपभोक्ताले दूधको मूल्य बढी तिर्नुपरे पनि किसानले पाउने मूल्य नबढ्दा दुग्ध उत्पादक मारमा परेको सङ्घको भनाइ छ । महालक्ष्मी नगरपालिका–२ की कृषक कृष्णमाया कटुवालले किसानले उत्पादन गरेको दूध प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा बिक्री गर्नुपरेको तर उपभोक्ताले बजारमा प्रतिलिटर १२० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको बताउनुभयो । दूधको मूल्य नबढ्दा पशु आहार, औषधोपचार र अन्य व्यवस्थापन खर्च धान्न कठिन भएको उहाँले बताउनुभयो ।

सङ्घका अनुसार धनकुटामा करिब ४० हजार किसान दुग्ध उत्पादनमा आबद्ध छन् । जिल्लामा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये दुग्ध विकास संस्थानले दैनिक करिब १० हजार लिटर खरिद गर्दै आएको छ । कामधेनु, जीवन विकासलगायत निजी डेरी तथा अन्य संस्थाले पनि दूध सङ्कलन गर्दै आएका छन् । जिल्लाका २७ दुग्ध उत्पादक सहकारी संस्था तथा दूध सङ्कलन केन्द्रमार्फत किसानले दूध बिक्री गर्दै आएका छन् ।

किसानले दुग्ध विकास संस्थानबाट भदौ १५ गतेदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार धनकुटाका किसानले संस्थानबाट करिब डेढ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

सङ्घले मङ्सिर १५ गतेसम्म दूधको मूल्य वृद्धि नभए मङ्सिर १६ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ । माग सम्बोधन् नभए गाईवस्तुसहित सडकमा उत्रिएर चक्काजाम गर्ने र उत्पादित दूध बजारमा नपठाइ भण्डारण गर्ने अध्यक्ष कटुवालले बताउनुभयो ।

सरकारले पटकपटक दूधको मूल्य वृद्धि गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको सङ्घको आरोप छ । किसानले उत्पादन लागतका आधारमा दूधको मूल्य निर्धारण गरी दुग्ध उत्पादकलाई राहत दिन सरकारसँग माग गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार