मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

पर्सा-बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगन्ज । वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ ।

महानगरपालिकाले मङ्सिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिएका छन् ।

नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा रु एक करोडको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णय भएको उनले बताए । कोषमा वीरगन्ज महानगरपालिकाले रु ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले रु ३० लाख, कलैया उपमहानगरपालिकाले रु २५ लाख र परवानीपुर गाउँपालिकाले रु पाँच लाख योगदान गर्नेछन् ।

नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित भइसकेको महानगरपालिकाले जनाएको छ ।

नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । कार्यदलले मङ्सिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ ।

महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा. सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशङ्करप्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया